जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १६:४४

बालेन सरकारकै कारण ग्यासको चरम अभाव भएको तथ्य खुल्यो, बिक्रेता संघले देखाइदियो ऐना


काठमाडौं, साउन ३१ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गरेको चरम बदमासीका कारण मुलुकभर ग्यासको अभाव भएको तथ्य ग्यास बिक्रेता महासंघले खोलेको छ ।

महासंघले लामो समयदेखि खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको र जनताको पीडा र सास्तीमा आफ्नो प्रचारवाजी गराउने काम गरिरहेको बताएको हो ।

देशभर खाना पकाउने ग्यास अभाव भएपछि महासंघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो ‘अनावश्यक प्रचारबाजी’ मा लागेको कारण ग्यासको समस्या समाधान हुन नसकेको बताएको हो ।

विगत ४ महिनामा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात गरिएको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएअनुसार हाल बजारमा आवश्यकताभन्दा बढी अर्थात् करिब ८० लाख सिलिन्डर छरिएका छन् ।

यति ठूलो संख्यामा सिलिन्डर हुँदाहुँदै पनि नयाँ सिलिन्डर बिक्री गर्ने कार्य नरोकिएकाले आगामी वर्ष यो समस्या थप जटिल बन्ने निश्चित रहेको महासंघले चेतावनी दिएको छ।

ग्यासको अभाव हुनुको अर्को मुख्य कारण उद्योग र विभिन्न बिक्री केन्द्रहरूले सीधै ग्यास बिक्री गर्नु रहेको महासंघको आरोप छ । वितरण च्यानल (बिक्रेताहरू) मार्फत ग्यास बिक्री नगरी सरकार उद्योग र बिक्री केन्द्रका नामबाट आफैँले बेच्दा गर्दा अभाव थप जटिल बनेको महासंघले जनाएको छ ।

अनुगमनका नाममा आम बिक्रेताहरूलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै महासंघले यसलाई ‘सरकारी रवैया’भनेको छ । महासंघले ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरूबाट बिक्री तत्काल बन्द गर्नुपर्ने, डिलरमार्फत मात्रै बिक्री वितरण सहज गर्नुपर्ने, अनुगमनका नाममा बिक्रेतालाई दुःख दिने कार्य बन्द गर्नुपर्ने लगायतका माग राखेको छ ।

‘एलपी ग्यास बिगत चार महिनामा करिव ६० हजार मेट्रिक टन कम आयात गरिएको, ग्यासको प्रभावकारी बितरण च्यानल बिक्रेतामार्फत ग्यास बिक्री नगरी ग्यास उद्योग र बिभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको छ । बजारमा चाहिनेभन्दा बढी असी ला सिलिन्डर छरिएकाले आज यो स्थिति उत्पन्न भएको हो । अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएकाले आगामी बर्षहरूमा पनि यो समस्या थप जटिल बनेर आउने निश्चित छ,’ अध्यक्ष अर्यालले बिज्ञप्तिमार्फत भन्नुभएको छ ।

महासंघले सरकार, उद्योग र बिक्री केन्द्रको नाममा सिण्डिकेट लादेर आफै ग्यास बिक्री गर्ने अनि जनताको आँखामा छारो हाल्न अनुगमनको नाममा बिक्रेतालाई अनावश्यक दुःख दिने रवैयामा लागेको भन्दै कडा आपत्ति जनाएको छ ।