विराटनगर, असोज ३० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल प्रहरीले स्थापना कालदेखि नै राष्ट्र र नेपाली जनताको सुख-दुःखमा अग्रपंक्तिमा रहेर इमानदारीपूर्वक सेवा प्रदान गर्दै आएको बताउनु भएको छ ।
नेपाल प्रहरीको ७१औँ स्थापना दिवसका अवसरमा बिहीबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विभिन्न आरोह–अवरोह पार गर्दै नेपाल प्रहरीले राष्ट्र र जनताको सेवामा निरन्तर योगदान दिँदै आएको बताउनुभयाे । उहाँले वीर अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत प्रहरीका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो। प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन विभिन्न विधामा पुरस्कार स्थापना गर्ने कोषका संस्थापक तथा प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने दाताहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले पुरस्कृत प्रहरी कर्मचारी तथा छात्रवृत्ति प्राप्त गर्ने जेहेन्दार विद्यार्थीलाई बधाई दिँदै प्राप्त सम्मान र पुरस्कारलाई आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणाका रूपमा लिन आग्रह गर्नुभयो। विद्यार्थीलाई शैक्षिक क्षेत्रमा थप सफलता हासिल गर्नसमेत शुभकामना दिनुभयो । ‘विपदमा सारथि, सङ्कटमा छहारी: प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित ७१औँ प्रहरी दिवसका अवसरमा अमर प्रहरी परिवारलाई सम्मान, उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ खटिएका बेला UNAMID मिसनमा कर्तव्य पालनका क्रममा वीरगति प्राप्त गरेका प्रहरी कार्यालय सहयोगी उमेश कुमार मेहत्तरलाई संयुक्त राष्ट्रसंघले प्रदान गरेको ‘ड्याग ह्यामरसोल्ड मेडल’ मुख्यमन्त्री कार्कीले उहााका परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभयो। सो अवसरमा अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष सरिता खनाललगायत संघका पदाधिकारीले अमर प्रहरी परिवारलाई सम्मान गरेका थिए। प्रहरी कार्यमा सहयोग पुर्याउने व्यक्ति, विभिन्न संघ-संस्थाका प्रतिनिधि, प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता तथा अक्षयकोष र पुरस्कार कोषका संस्थापकलाई पनि सम्मान गरिएको थियो।
त्यसैगरी एसइई तथा उच्च शिक्षाका परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने बहालवाला प्रहरी, पूर्वप्रहरी तथा अमर प्रहरीका परिवारका जेहनदार सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धानलगायत प्रहरीका विभिन्न कार्यमा उत्कृष्ट योगदान पुर्याउने प्रहरी कर्मचारीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले प्रहरी दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपस्थित अतिथि तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो। उहाँले प्रमुख अतिथि मुख्यमन्त्री कार्कीलाई कृतज्ञताको प्रतीक ‘टोकन अफ ग्राटिच्युड’ प्रदान गरी सम्मान गर्नु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्