जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार १५:०२

अल्गाेरिदमकाे विश्वव्यापी प्रभाव- छाडा गाली गर्नेले दुई तिहाइ मत पाइरहेका छन् : गगन थापा


काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका सभापति गगन थापाले विश्व राजनीति नै अल्गोरिदमको प्रभावमा पर्दै गएको बताउनुभएको छ । 

काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सामाजिक सञ्जालमा छाडा गालीगलौज र उत्तेजक सामग्री प्रस्तुत गर्नेहरूले समेत दुई तिहाइ मत पाइरहेको टिप्पणी गर्नुभयाे ।  परम्परागत राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गएको र त्यसको प्रभाव नेपालको राजनीतिमा समेत देखिएकाे थापाले बताउनुभयाे। विश्वभरका मतदातामा परम्परागत राजनीतिक दलले समस्याको समाधान गर्न सक्दैनन् भन्ने धारणा बढ्दै गएको उहाँकाे भनाइ छ । 

थापाले युरोपका विभिन्न १४–१५ वटा निर्वाचनसम्बन्धी सर्वेक्षणमा परम्परागत राजनीतिक दलको मतदाता आधार ३० प्रतिशतले घटेको उल्लेख गर्नुभयाे। ब्राजिलको निर्वाचनको उदाहरण दिँदै उहाँले सामाजिक सञ्जालमा बन्दुक पड्काएको, गरिबलाई मार्नुपर्ने भन्दै अपशब्द प्रयोग गरेका भिडियो पोस्ट गर्नेहरू नै ठूलो मतान्तरसहित विजयी हुने अवस्था देखिएको बताउनुभयाे । ‘ग्लोबल पोलिटिक्स नै अल्गोरिदमले लतारिरहेको छ,’ थापाले भन्नुभयाे । 

 सामाजिक सञ्जालमा प्रस्तुत हुने सामग्री र त्यसले मतदाताको सोच तथा राजनीतिक निर्णयमा पार्ने प्रभावप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयाे। नयाँ र पुरानो राजनीतिको नाममा समाज तथा राजनीति विभाजित भइरहेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले सबैलाई सँगै लिएर अघि बढ्न सक्ने बताउनुभयाे। बदलिँदो राजनीतिक परिवेशमा पार्टीले आफ्नो विचार, संगठन र नेतृत्वलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । 

यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनमा आफूले समर्थन गरेका कतिपय उम्मेदवार पराजित भएको प्रसंग उल्लेख गर्दै थापाले आन्तरिक प्रतिस्पर्धाको परिणामलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयाे। आफूले मत दिएका केही उम्मेदवार निर्वाचित हुन नसकेको र मत दिन छुटाएका केही उम्मेदवार निर्वाचित भएको उहाँले सुनाउनुभयाे । ‘जित्नेले हस्तिनापुर नै जित्यो, हार्नेले सबै गुमायो भन्ने होइन, यो आन्तरिक प्रतिस्पर्धा हो, सबैलाई मैले मिलाएर लैजानुपर्नेछ’, उहाँले भन्नुभयाे । 

महाधिवेशनमा प्रतिस्पर्धा नगरेका वा प्रतिस्पर्धा गरेर पनि निर्वाचित हुन नसकेका नेताहरूलाई अयोग्यका रूपमा हेर्न नहुने उहाँको भनाइ छ। पार्टीभित्रको प्रतिस्पर्धापछि सबैलाई समेटेर अघि बढ्नु आफ्नो जिम्मेवारी रहेको उहाँले बताउनुभयाे।

थापाले पार्टीको आगामी यात्रामा विचार, संगठन र नेतृत्वलाई प्राथमिकतामा राख्दै आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिनुभयाे।