जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार १२:३३

साइबर अपराध नियन्त्रण र नागरिक गुनासो सम्बोधन गर्न एकीकृत संयन्त्र बन्दैछ : आईजीपी कार्की


काठमाडौं, असोज ३० । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।

७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण काक्रममा बोल्दै आईजीपी कार्कीले यस्तो जानकारी दिनुभएको हो । उहाँले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको जानकारी पनि दिनुभयो ।

पछिल्लो समय तीव्र गतिमा बढिरहेको वित्तीय तथा साइबर अपराध रोकथामका लागि एउटै प्लेटफर्मबाट नागरिकका गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी पनि आईजीपी कार्कीले दिनुभयो ।

‘पछिल्लो समय तीव्र गतिमा बढिरहेको वित्तीय तथा साइबर अपराध रोकथामका लागि नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्ने काम अघि बढिसकेको छ,’ उहाँले भन्नुभयो ।

‘विपदमा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको ७१औँ प्रहरी दिवसका अवसरमा आइजीपी कार्कीले राष्ट्रसेवाका क्रममा हालैको भोटेकोशी, त्रिशूली विपद्लगायत विभिन्न कालखण्डमा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

यस्तै उहाँले कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संगठन निर्माणमा योगदान पुर्याउने सम्पूर्ण पूर्व तथा बहालवाला प्रहरीहरूप्रति आभार व्यक्त गर्नुभयो ।

आगामी दिनमा आइपर्ने विपद् सामना गर्न नेपाल प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासमा सरकारले जोड दिएको जानकारी पनि आईजीपी कार्कीले दिनुभयो ।

यस्तै उहाँले यसै अवसरमा विमोचित ‘पुलिस मिरर’ ले प्रहरीको इतिहास र वर्तमानलाई नयाँ पुस्तासँग जोड्ने विश्वास व्यक्त गर्नुभएको छ ।