विराटनगर, असोज ३० । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन्।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बिहीबार राति गाँजा कारोबार हुन सक्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट गस्ती टोली खटिएको थियो। राति करिब ९ः२५ बजे गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिसँग प्रहरीको जम्काभेट भएको थियो।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेपछि सुरुमा एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नरोकेपछि प्रहरीले चलाएको गोली भारतको अररिया जिल्लाको जोगबनीका ३९ वर्षीय प्रमोद चौधरीको देब्रे खुट्टाको पिँडुलामा लागेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
घटनास्थलबाट चौधरीसँगै भारतको अररिया जिल्लास्थित महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट करिब १०० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
यसअघि असोज २९ गते दिउँसो सोही नगरपालिका–५ स्थित बक्राहा खोलाको बगरमा बेवारिसे अवस्थामा राखिएको २६४.५९ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको थियो। सोही स्थानमा पुनः कारोबार हुन सक्ने सूचनापछि प्रहरीले निगरानी बढाएको थियो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्