रामेछाप, असोज २९ । बागमती प्रदेशसभा अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले वर्तमान सरकार निरङ्कुश बन्दै गएको बताउनुभएको छ । उहाँले सरकार हरेक क्षेत्रमा अनुदार बन्दै गएको र त्यसको असर नागरिकको जीवन तथा प्रेस स्वतन्त्रतामा समेत परेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ रामेछापले बिहीबार मन्थलीमा आयोजना गरेको ‘पत्रकारिता र लैङ्गिक समानता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले लोकतन्त्रको नाममा राज्य विभेदकारी बन्दै गएको टिप्पणी गर्नुभयो । राज्यको व्यवहारका कारण नागरिकले असमयमै मृत्युवरण गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो । ‘राज्य लाेकत्नत्काे नाममा विभेदकारी हुँदै अघि बढिरहेको छ’, उहाँले भन्नुभयो ।
नयाँ भनिएका राजनीतिक शक्तिहरूको गति, मति र नीति हेर्दा देशमा गरिबीको दर घट्ने सङ्केत नदेखिएको उहाँको भनाइ थियो । सरकारले विकासको तीनखम्बे नीति त्यागेको आरोप लगाउँदै उहाँले नेपालजस्तो मुलुकमा सरकार एक्लैले रोजगारी सिर्जना गर्न नसक्ने बताउनुभयो । ‘हाम्रो जस्तो मुलुकमा सरकार एक्लै अगाडि बढेर रोजगारी सिर्जना हुन सक्दैन,’ उहाँले भन्नुभयो ।
पुराना राजनीतिक दलहरूले केही गरेनन् भन्नेहरूले पनि देशको विकास र विदेश पलायन रोक्न उल्लेखनीय काम गर्न नसकेको उहाँले बताउनुभयो । विदेश जाने नेपालीको सङ्ख्या घटेको छ वा छैन भन्ने विषय तथ्याङ्कका आधारमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक तथा सामाजिक व्यवस्थापनमा यथार्थलाई आधार बनाउनुपर्ने धारणा राख्नुभयो । ‘मिथ्याङ्क प्रस्तुत गरेर नयाँका नाममा गरिने उद्घोषले हामीलाई सही गन्तव्यमा पुर्याउँदैन, यो आफैँ पर्दाफास हुँदै जानेछ, हामीले पर्खनुपर्छ,’ श्रेष्ठले भन्नुभयो ।
पुराना राजनीतिक दलहरूबाट पनि कमजोरी भएको स्वीकार गर्दै उहाँले ती कमजोरी सच्याउन आफूहरू तयार रहेको बताउनुभयो । पुराना दलहरूले पूर्वाधार निर्माण र विकासका विभिन्न काम गरे पनि पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । ‘हामीले पनि कम गरेका थियौँ, इतिहासले त्यसको हिसाबकिताब गर्छ,’ उहाँले भन्नुभयो ।

सभापति श्रेष्ठले राज्यले निजी सञ्चारमाध्यमलाई सरकारी सूचना तथा विज्ञापनबाट वञ्चित गरेर प्रेसमाथि अङ्कुश लगाउने काम गरेको आरोप लगाउनुभयो । राज्यको यस्तो व्यवहारले स्वतन्त्र पत्रकारिता र सञ्चार क्षेत्रको व्यावसायिक वातावरणमा नकारात्मक असर पारिरहेको उहाँको भनाइ थियो । उहाँले यसबाट उत्पन्न परिस्थितिका कारण एक असल सञ्चार उद्यमीले ज्यान गुमाउनुपर्ने अवस्थासमेत आएको उल्लेख गर्नुभयो ।
सभापति श्रेष्ठले लैङ्गिक समानताको अवस्था समाजको समग्र चरित्रसँग जोडिएको बताउनुभयो । समाजको सोच, चिन्तन, बोली र व्यवहारका आधारमा समाज लैङ्गिकमैत्री छ वा छैन भन्ने मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ थियो । ‘अहिले पनि हाम्रो समाज सामन्तवादी सोच र चिन्तनबाट अघि बढिरहेको छ । त्यसैले लैङ्गिक रूपमा हेरिने दृष्टिकोणमा पनि असमानता छ,’ उहाँले भन्नुभयो ।
समाजको चरित्र निर्माणमा अर्थतन्त्रलाई निर्देशित गर्ने विचारधाराको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले प्रतिष्ठित मानिएका व्यक्तिहरूले प्रयोग गर्ने शब्द र अभिव्यक्तिसमेत लैङ्गिक दृष्टिले आपत्तिजनक हुने गरेको बताउनुभयो । सामाजिक व्यवहारमा परिवर्तन ल्याउन दैनिक बोलीचाली, उखान, थेगो र अभिव्यक्तिमा समेत लैङ्गिक समानताप्रति सचेत हुनुपर्ने उहाँले औँल्याउनुभयो । ‘हामीले प्रयोग गर्ने उखान, बोल्ने थेगो र बोलीमा लैङ्गिक समानतामा कत्तिको ध्यान दिएका छौँ भन्ने कुरा महत्त्वपूर्ण छ । लेखेर मात्र हुँदैन, हाम्रो व्यवहार कस्तो छ भन्ने कुरा प्रमुख हो,’ उहाँले भन्नुभयो ।
लैङ्गिक समानताका विषय भाषण र लेखनमा मात्र सीमित हुन नहुने बताउँदै उहाँले दैनिक जीवनको बोली, व्यवहार र सामाजिक अभ्यासमा समेत समानता झल्किनुपर्नेमा जोड दिनुभयो । स्वतन्त्रता र स्वच्छन्दताबीचको भिन्नता औँल्याउँदै उहाँले स्वतन्त्रता आवश्यक भए पनि स्वच्छन्दताले समाजलाई अराजकतातर्फ लैजान सक्ने बताउनुभयो । यस्तो प्रवृत्तिले समाज र राज्यलाई नै कमजोर बनाउने उहाँको धारणा थियो । ‘स्वतन्त्रता आवश्यक छ, तर स्वच्छन्दताले समाजलाई अराजक बनाउँछ, त्यसले समाज र राज्यलाई नै समाप्त पार्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पत्रकारिता क्षेत्रको विकासका लागि स्थानीय तह आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्कालगायतले पनि धारणा राख्नुभएको थियो ।
पत्रकारिता, लैङ्गिक समानता, सामाजिक सोच र अभिव्यक्तिको जिम्मेवारीलगायत विषयमा छलफल भएको उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेको अध्यक्षतामा भएको थियो ।














प्रतिक्रिया दिनुहोस्