जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार १५:१२

कांग्रेस महाधिवेशनको सार : गगन-विश्वले छानिछानी हराइदिए योग्य र इमान्दार


काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको महाधिवेशनमा सभापति गगन थापाले पार्टीमा योगदान गरेका इमानदार र बौद्धिक जति सबैलाई छानिछानी हराइदिएको पाइएको छ ।

सभापति थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सूची आधिकारिक होइन भन्दै सवैतिर लिस्ट पठाएर चुनावमा पराजित गराएको पाइएको हो । कांग्रेसको पदाधिकारीमा अहिलेसम्म गगन नेतृत्वको समूहले वितरण गरेको सूचीबाहेक एक जनाले पनि पदाधिकारी नजितेपछि इमानदारलाई छल्न संस्थागत रूपमा बेइमानी गरेको तथ्य बाहिर आएको हो ।

कांग्रेस उपसभापतिका उम्मेदवार गोविन्द भट्टराई, धनराज गुरुङले त खुलेरै आफूहरूलाई हराउन सभापति र वरिष्ठ उपसभापति लागेको पोल खोलिसक्नुभएको छ । अहिलेसम्म कांग्रेस पदाधिकारीको सबै परिणाम आउँदा उपसभापतिमा थापा–शर्मा समूहको लिस्टमा पर्नुभएका चन्द्र भण्डारी र मधु आचार्य र विनोद चौधरी, महामन्त्रीमा पनि लिस्टमै राखिएका प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला पन्त निर्वाचित हुनुभएको छ ।

यसैगरी सहमहामन्त्रीमा समेत आधिकारिक होइन भन्दै बाँडिएको सूचीअनुसार नै सबै निर्वाचित भएका छन् । सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, महिलामा प्रतिमा गौतम, पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही, आदिवासी जनजातिमा बहादुर सिंह लामा, दलितमा प्रकाश रसाइली स्नेही, मुस्लिममा मो. फिरदोश आलम निर्वाचित हुनुभएको छ ।

मुस्लिमतर्फ सहमहामन्त्रीमा नेपाली कांग्रेसको लामो समयदेखि काम गर्दै आउनुभएका मुस्लिम संघ नेपालका संस्थापक सभापति अब्दुल सत्तार हराएर आफताव आलमका छोरालाई सूची बाँडेर जिताइएको पाइएको हो । सत्तार इमानदार र त्यागी नेता भएकै कारण हराएर नेपो बेवीको जन्म गराइएको आरोप सभापति थापामाथि लागेको छ ।

उता महामन्त्रीमा पनि निष्ठावान, बौद्धिक र विशेष महाधिवेशनको पक्षमा अभियानकर्ता गुरुराज घिमिरे, समाजसेवामा पनि अब्बल र हकी नेता डा. सुनिल शर्मा जस्तो नेतालाई हराउन सूची बाँड्ने काम गरिएको हो । कांग्रेस स्रोतका अनुसार महाधिवेशनमा केन्द्रीय सदस्यसम्मै सूची बाँडिएको थियो ।

कांग्रेसको महामन्त्री पदमै रहेर गत वर्षको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको हाइज्याक र विध्वंसात्मक काममा सघाएको आरोप लागेका सभापति थापाले महाधिवेशनमा धन भएका, बुद्धि भएका र जेनजी विद्रोहमा गुप्त बनेर सघाएकाहरूलाई जिताउन लिस्ट बाँडेको आरोपसमेत लागेको छ ।

कांग्रेसको यो महाधिवेशनमा थापाको सङ्केतविना मतदान नै नगर्ने लगभग ६० प्रतिशत अति योग्य मतदाता रहेको तथ्य बन्दशत्रमै खुलेको थियो । सोही कारण कांग्रेसको इतिहासमै ९३ प्रतिशतभन्दा बढी मत ल्याएर सभापति निर्वाचित हुने इतिहास थापाले लेखाउन सफल हुनुभएको छ भने पूर्वजानकारी नै नदिएर एकाएक वरिष्ठ उपसभापति, महिला उपसभापति र महिला महामन्त्री पद थपेर देउवा समूहतिरबाट आएका अवसरका सदाबहार प्रयोगकर्तालाई स्थान दिइएको छ ।

गगनको फेसन भन्ने नाम दिइएको १५औँ महाधिवेशनले त्याग, निष्ठा र इमान भन्नेहरूलाई फेरि कहिल्यै फर्कन नसक्ने गरी किनारामा पारेको छ । भविष्यमा आफ्नो शक्तिमाथि कसैले चुनौती दिन नसकोस् भनेर सभापति थापा र वरिष्ठ उपसभापति शर्माले यस्तो सकुनी खेल खेलेको तथ्यसमेत उजागर भइसकेको पराजित उम्मेदवारहरूको भनाई छ ।