काठमाडौं, असोज २९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बद्ध थिंक ट्याङ्क नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गर्नुभएको छ।
इन्स्पायरमार्फत नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीहरूको अध्ययन तथा अनुसन्धान गरिने प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले जानकारी दिनुभयो। उहाँका अनुसार इन्स्पायरले नीतिनिर्माता र विषयविज्ञहरूलाई एउटै मञ्चमा ल्याएर विविध विषयमा छलफल गर्दै आएको छ।
ज्ञान उत्पादन तथा रणनीतिक बहसलाई सहजीकरण गर्दै इन्स्पायरले नेपालको लोकतान्त्रिक, समाजवादउन्मुख र राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्याउने लक्ष्य राखेको छ।
आज सार्वजनिक गरिएको वेबसाइट अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध छ। वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी पाँच विधा समेटिएका छन्। वेबसाइटमा यसअघि इन्स्पायरले आयोजना गरेका नीतिगत बहसका कार्यपत्र तथा जर्नलमा प्रकाशित आलेखहरू पनि राखिएका छन्। हाल वेबसाइटमा आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन समावेश गरिएका छन्।
वेबसाइटमा ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आलोकमा जनताको बहुदलीय जनवाद’, ‘बदलिँदो जनसांख्यिक संरचना’, ‘नेपाली समाजको रूपान्तरण’, ‘उत्पादन सम्बन्ध’, ‘राष्ट्रिय सुरक्षा नीति’, ‘विश्वको अर्थराजनीति’, ‘शक्ति सन्तुलन’, ‘आप्रवासनबाट उत्पन्न संरचनात्मक परिवर्तन’ र ‘समाजको वर्ग विश्लेषण’ लगायतका विषयमा तयार पारिएका कार्यपत्रहरू प्रकाशित छन्। यसका अतिरिक्त वेबसाइटमा ‘किताबका कुरा’ र ‘युथ इग्नाइट’ लगायतका शीर्षक पनि समावेश गरिएका छन्।

इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीका विषयमा हुने नीतिगत बहसबाट प्राप्त नयाँ विचारहरूलाई ‘पोलिसी ल्याब’ मा समावेश गरिनेछ। वेबसाइटको नेपाली भाषातर्फ रामशरण बजगाईं र अंग्रेजी भाषातर्फ बालकृष्ण कट्टेल सम्पादक रहनुभएको छ।
प्रतिष्ठानका अध्यक्ष रिमालले एमालेलाई नीतिगत रूपमा बलियो बनाउने तथा राजनीतिभन्दा बाहिर भइरहेका बहस र समाजमा उठिरहेका विषयलाई वेबसाइटमार्फत राजनीतिको मूल प्रवाहमा ल्याउने प्रयास गरिएको बताउनुभयो।
वेबसाइटमा प्रकाशित सामग्रीका विषयमा डा. युवराज खतिवडा, प्रा. डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा. टीका ढकालले आ–आफ्ना धारणा राख्नुभएको थियो।














प्रतिक्रिया दिनुहोस्