काठमाडौं, असोज ३० । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल प्रहरीलाई अझ व्यावसायिक, जनउत्तरदायी, अनुशासित र प्रविधिमैत्री संगठनका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
७१औँ प्रहरी दिवस–२०८३ का अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले शान्ति सुरक्षा सुदृढीकरण, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने कार्यमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो।
उहाँले नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित हुँदै राष्ट्र तथा नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था कायम र अपराध नियन्त्रणमा नेपाल प्रहरीले पुर्याउँदै आएको योगदानको उच्च सम्मान गर्नुभयो।
मुख्यमन्त्री थापा मगरले कुनै पनि मुलुकको विकास, समृद्धि र सुशासनको आधार शान्ति, सुरक्षा र कानुनी शासन भएको बताउँदै नागरिकले आफ्नो घरपरिवार, व्यवसाय, पेसा तथा दैनिक जीवन सुरक्षित रूपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्नुभयो।
अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साइबर अपराध अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका क्षेत्रमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो।
उहाँले प्रहरीप्रतिको जनविश्वास नै संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो। पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कारले मात्र प्रहरीप्रतिको विश्वास थप बलियो बनाउन सकिने उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापा मगरले प्राकृतिक विपद्का बेला नेपाल प्रहरीले निर्वाह गर्दै आएको साहसिक र मानवीय भूमिकाको प्रशंसा गर्नुभयो। बाढी, पहिरो, आगलागी, भूकम्पलगायतका विपद्का समयमा प्रभावित नागरिकले राज्य र सुरक्षाकर्मीबाट सहयोगको अपेक्षा गर्ने उल्लेख गर्दै उहाँले खोज, उद्धार, राहत वितरण र सुरक्षित स्थानान्तरणमा प्रहरीको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो।
हालै भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले उक्त विपद्का बेला नेपाल प्रहरीले प्रदेश सरकार, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो।
जोखिमपूर्ण भूगोल, अवरुद्ध सडक, प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद प्रहरी कर्मचारीहरू प्रभावित क्षेत्रमा खटिएर नागरिकको जीवन रक्षा तथा बेपत्ता व्यक्तिको खोजीमा सक्रिय रहनु कर्तव्यनिष्ठा र राष्ट्रसेवाप्रतिको समर्पणको उत्कृष्ट उदाहरण भएको उहाँले बताउनुभयो।

बाढीपछि उद्धार तथा खोजी, शवको पहिचान, आफन्तलाई जानकारी, राहत व्यवस्थापन र पीडित परिवारलाई सहयोग पुर्याउने कार्यमा समेत प्रहरीले सक्रियता देखाएको उहाँको भनाइ थियो। बूढीगण्डकी नदी क्षेत्रमा हालै आएको बाढीले पनि विपद् व्यवस्थापनको गम्भीरता पुनः स्मरण गराएको उहाँले उल्लेख गर्नुभयो।
विपद्का बेला आफ्नो व्यक्तिगत सुखसुविधाभन्दा माथि उठेर नागरिकको जीवन रक्षामा खटिने प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनको योगदानको मुख्यमन्त्री थापा मगरले उच्च सम्मान गर्नुभयो। भोटेकोसी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभयो।
मुख्यमन्त्री थापा मगरले प्रदेशको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरी समायोजनको प्रक्रिया शीघ्र टुङ्ग्याउन सङ्घीय सरकारसँग आग्रह पनि गर्नुभएको छ।
नेपालको संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी समायोजन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रक्रिया पूर्ण रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारलाई शान्ति सुरक्षा व्यवस्थापन तथा प्रहरी प्रशासनलाई प्रभावकारी बनाउन व्यावहारिक कठिनाइ भइरहेको बताउनुभयो।
प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारले प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने वातावरण आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
प्रहरी समायोजनमा ढिलाइ हुँदा संविधानले परिकल्पना गरेको सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा समेत चुनौती उत्पन्न भएको उहाँको भनाइ थियो। त्यसैले सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबीच आवश्यक समन्वय, सहकार्य र संवादमार्फत प्रहरी समायोजन प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्याउन उहाँले आग्रह गर्नुभयो।
प्रहरी समायोजनबाट प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन व्यवस्थित हुनुका साथै प्रहरी कर्मचारीको वृत्ति विकास, जनशक्ति परिचालन र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने कार्यमा सकारात्मक परिणाम आउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
बागमती प्रदेश सरकारले प्रदेशभित्र शान्ति सुरक्षा सुदृढ गर्ने, विपद् जोखिम न्यूनीकरण गर्ने, उद्धार तथा राहत कार्य व्यवस्थित बनाउने र नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो।
प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि, आधुनिक अनुसन्धान प्रणालीको विकास, विपद् प्रतिकार्यसम्बन्धी सीप तथा उपकरणको उपलब्धता र नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी, समुदायसँगको सहकार्यमा अपराध नियन्त्रण, विद्यालय तथा समुदायमा सचेतना अभिवृद्धि, महिला र बालबालिकाको सुरक्षामा संवेदनशीलता तथा प्रविधिमा आधारित अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो।
प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरी कार्यालयसहित विभिन्न प्रहरी भवन तथा पूर्वाधार निर्माण र सवारीसाधन उपलब्ध गराउन सहयोग हुँदै आएको उल्लेख गर्दै उहाँले प्रहरी संगठनलाई अझ सक्षम, आधुनिक, व्यावसायिक र उत्तरदायी बनाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताउँदै उहाँले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो।

सम्बोधनका क्रममा मुख्यमन्त्री थापा मगरले कर्तव्य निर्वाहका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको त्याग र बलिदानको स्मरण गर्नुभयो। उहाँले घाइते, अशक्त तथा सेवानिवृत्त प्रहरी कर्मचारीको योगदानको सम्मान र उनीहरूको कल्याणमा ध्यान दिनु राज्यको जिम्मेवारी भएको बताउनुभयो।
अन्त्यमा उहाँले ७१औँ प्रहरी दिवसले नेपाल प्रहरीलाई अझ व्यावसायिक, जनउत्तरदायी, अनुशासित र प्रविधिमैत्री संगठनका रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै सेवारत प्रहरी कर्मचारीको सुरक्षा, सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। साथै, कर्तव्य निर्वाहका क्रममा घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ७१औँ प्रहरी दिवसको शुभकामना व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्