जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार ०७:४६

देशको अस्तव्यस्ततामाथि पूर्वराजा ज्ञानेन्द्र शाहको प्रश्न, राष्ट्रिय एकतामा जोड


काठमाडौं, असोज ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक, संवैधानिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सहकार्यबाट देशका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विजयादशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै उहाँले देशमा देखिएको अन्योल र अव्यवस्थाको कारणबारे प्रश्न उठाउनुभएको हो । उहाँले राजनीतिक नेतृत्व, राज्य सञ्चालनको प्रणाली र देशको भविष्यबारे गम्भीर समीक्षा गर्नुपर्ने सन्देश दिनुभएको छ । ‘यतिबेला हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अव्यवस्थाको अवस्थामा किन मौलन्छ ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

पूर्वराजा शाहले राज्य प्रणालीलाई कसरी प्रभावकारी बनाउने, प्रजातान्त्रिक आधारलाई कसरी सुदृढ गर्ने र अर्थतन्त्रलाई कसरी गतिशील बनाउने भन्ने विषयमा समेत प्रश्न उठाउनुभएको छ । उहाँले वर्तमान राष्ट्रिय परिस्थितिलाई विश्व परिवेश र भू–राजनीतिक अवस्थासँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै राष्ट्रियता र मौलिकताको संरक्षणमा ध्यान दिनुपर्ने सन्देश दिनुभएको छ ।

देशमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्य आवश्यक रहेको पूर्वराजा शाहको भनाइ छ । उहाँले नेपाली समाजमा करुणा, सद्भाव र देशभक्तिको भावना बलियो बनाउँदै विभाजित नभई एकताबद्ध भएर सबल र सक्षम नेपाल निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्ने उल्लेख गर्दै उहाँले देश कठिन परिस्थितिमा रहेका बेला एकअर्काको दुःखमा साथ दिनु र घाउमा मलम लगाउनु नै साँचो देशभक्तिको परिचायक हुने सन्देश दिनुभएको छ ।

उहाँले राष्ट्रिय स्वाभिमान र मौलिकताको संरक्षण गर्दै देशलाई अघि बढाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ । राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि नागरिकबीच एकता र सहकार्य अपरिहार्य रहेको उहाँको सन्देश छ ।

पूर्वराजा शाहले पछिल्लो समय नेपालले भोग्नुपरेका प्राकृतिक विपत्तिको प्रसङ्गसमेत शुभकामना सन्देशमा समेट्नुभएको छ । भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जिल्लाका नदीतटीय क्षेत्रमा भएको क्षति तथा जनधनको नोक्सानीलाई उहाँले दुःखद् घटनाका रूपमा उल्लेख गर्नुभएको छ ।

प्रकृतिका आफ्नै नियम र गति हुने उल्लेख गर्दै उहाँले मानवीय कमजोरीका कारण प्राकृतिक विपत्तिको असर थप भयावह बन्न सक्ने धारणा व्यक्त गर्नुभएको छ । प्रकृतिको स्वाभाविक गतिलाई स्वीकार गर्दै त्यससँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

विजयादशमीको अवसरमा जारी सन्देशमार्फत पूर्वराजा शाहले मुलुकको राजनीतिक तथा सामाजिक अवस्थाबारे प्रश्न उठाउनुभएको छ भने राष्ट्रिय एकता, सद्भाव, सहकार्य र देशभक्तिको भावनालाई बलियो बनाएर देशलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।