जनकपुर, असोज ३० । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिँदै एमालेबाट सरकारमा सहभागी चार जना मन्त्रीले शुक्रबार नै राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा हुनुहुन्छ ।
एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराउनु भएको छ ।
एमालेले सरकार गठनअघि भएको १५ बुँदे सहमतिअनुसार प्रदेश सरकार सञ्चालन, सुशासन, विकास निर्माण तथा जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले सरकारलाई समर्थन गरेको भए पनि हुन नसकेको जनाएको छ ।
सहमतिअनुसार सरकार सञ्चालन हुन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको र विकास निर्माणका योजनामा आवश्यक प्राथमिकता नदिएको कारण सरकारबाट फिर्ता हुनुपरेको एमालेको भनाई छ ।
पत्रमा बजेटमा समावेश भएका महत्वपूर्ण विषयसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सहमति कार्यान्वयन नभएकाले समर्थन फिर्ता लिने निर्णय गरेको जनाइएको छ ।
एमालेले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल हुने देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्