विराटनगर, साउन २९ । विराटनगरका सातवटा निजी आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको छ।
प्रचलित कानुनी व्यवस्था तथा आवश्यक मापदण्ड पूरा नगरी विशेषज्ञ प्रकृतिको स्वास्थ्य सेवा सञ्चालन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङ र स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको अनुगमनपछि ती स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको हो।
शिलबन्दी गरिएका स्वास्थ्य संस्थामा विराटनगर–१४ को विराट आँखा अस्पताल, विराटनगर–१५ को इफराह आँखा अस्पताल, विराटनगर–१० को सञ्जिवनी आइ केयर, विराटनगर–१३ को हिमाल आँखा अस्पताल रहेका छन्।
त्यस्तै विराटनगर–९ को विराट रानी आँखा अस्पताल, विराटनगर–१५ को अखण्ड ज्योती आँखा अस्पताल प्रालि र विराटनगर–१३ को नेपाल आँखा अस्पताल प्रालिमा पनि शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए।
अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले विशेषज्ञ प्रकृतिको सेवा सञ्चालनका लागि आवश्यक कानुनी मापदण्ड पूरा नगरेको पाइएपछि सम्बन्धित निकायले कारबाहीस्वरूप शिलबन्दी गरेको हो।













प्रतिक्रिया दिनुहोस्