जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार १३:४१

सम्पत्ति छानबिन गर्ने हो भने सबैको गरौँ, हामी सहयोग गर्छौँ : भरतबहादुर स्वाँर


काठमाडौं, साउन २६ । प्रतिनिधि सभा सदस्य भरतबहादुर स्वाँरले सम्पत्ति छानबिन गर्ने विषयमा सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै स्वाँरले विगत ३५ वर्षमा आफूहरूले के गरियाे भन्ने प्रश्नको जवाफ केही घण्टामा दिएर नसकिने बताउनुभयो। उहाँले राज्यले सम्पत्ति छानबिन गर्ने हो भने सबैको सम्पत्ति, सुनचाँदी र जमिनको छानबिन गर्नुपर्ने धारणा राख्नुभयो। “सम्पत्ति छानबिन गर्दा सबैको गरौँ, सबैको सम्पत्ति खोजौँ, सबैको सुनचाँदी खोजौँ, सबैको जमिन खोजौँ, हामी सहयोग गर्छौँ,” उहाँले भन्नुभयो।

स्वाँरले आम नागरिकले भोगिरहेका आधारभूत समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। यातायातको लाइसेन्स, राहदानी तथा दैनिक उपभोग्य वस्तुका लागि लाग्ने लाइनको अवस्था कहाँ पुगेको छ भन्ने प्रश्न गर्दै उहाँले सुकुम्बासीको समस्यासमेत सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।

उहाँले सुदूरपश्चिमका जनतालाई आश्वासन र देखावटी मायामात्र नदेखाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सुदूरपश्चिमका नागरिकलाई पटक–पटक आश्वासन दिएर अलमल्याउने काम नगर्नसमेत उहाँले सरकारलाई सचेत गराउनुभयो। “सुदूरका जनतालाई प्रधानमन्त्रीको देखाउने माया चाहिँदैन, सुदूरका जनतालाई माछा माछा भ्यागुता नबनाउनुस्,” स्वाँरले भन्नुभयो।