सुर्खेत, कात्तिक १५ । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाबाट शे–फोक्सुन्डो तालतर्फ आउँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन्।
शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएका हुन्।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले हिमाली क्षेत्रमा हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको हुन सक्ने स्थानीय गाइडको अनुमान छ। स्थानीयवासीले हिमाल पार गर्न कठिन हुने भन्दै सचेत गराउँदासमेत पर्यटकहरू त्यसतर्फ गएको र फर्किने क्रममा फसेको हुन सक्ने उनीहरूको भनाइ छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन्। स्थानीयवासीले हिमाल पार गर्न कठिन हुने जानकारी गराउँदासमेत उनीहरू त्यसतर्फ गएको र अहिले सम्पर्कविहीन भएको उहाँले बताउनुभयो।
शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार वडा नम्बर ४ र ८ बीचका उक्त पासहरूमा फोन सम्पर्कसमेत हुँदैन। सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको अवस्थाबारे जानकारी लिन कठिन भइरहेको उहाँले बताउनुभयो।
उपल्लो डोल्पामा २४४ पर्यटक
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा अहिले २४४ जना पर्यटक छन्। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक छन्।
प्रतिकूल मौसमका कारण प्रशासनले पर्यटकहरूलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै ४ हजार ८८२ जना पर्यटकले शे–फोक्सुन्डो तालको भ्रमण गरेका थिए।
खोजी तथा उद्धारका लागि हेलिकप्टर माग
डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार पछिल्लो जानकारीसम्म पनि ६ जना भारतीय पर्यटक सम्पर्कमा आएका छैनन्। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको उहाँले बताउनुभयो।
अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ। फोन सम्पर्क नहुने क्षेत्र र बाक्लो हिउँका कारण पर्यटकहरू कुन अवस्थामा छन् भन्ने यकिन हुन सकेको छैन।
सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष छन्। उनीहरू फोक्सुन्डो ताल भ्रमणका लागि धोबाट आउँदै थिए। पर्यटकहरूको अवस्था पत्ता लगाउन र उद्धार गर्न नेपाली सेनाको टोलीसमेत खटिएको प्रमुख जिल्ला अधिकारी हमालले बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्