जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १५:३२

रविको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको एमाले सांसदको आरोप, रास्वपाको आपत्ति


काठमाडौं, असोज ५ । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्च अदालतमा आगजनी गरिएको आरोप लगाउनुभएको छ। उहाँको आरोपप्रति रास्वपा सांसदले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भदौ २३ र २४ गते सर्वोच्च अदालतमा भएको आगलागीको विषयमा प्रश्न उठाउँदै रास्वपा सभापति लामिछानेको निर्देशनमा अदालतका फाइल जलाइएको आरोप लगाउनुभएको हो।

उहाँले सर्वोच्च अदालतमा कुन फाइल र कुन कोठामा छन् भन्ने विषयमा निर्देशन दिएर आगजनी गरिएको दाबी गर्दै घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो।

सांसद श्रेष्ठले सरकारले न्यायपालिकामाथि निरन्तर प्रहार गरिरहेको आरोपसमेत लगाउनुभयो।

उहाँको अभिव्यक्तिप्रति रास्वपा सांसद लालविक्रम थापाले नियमापत्ति जनाउनुभएको छ। उहाँले पार्टी सभापति लामिछानेलाई जोडेर अफवाह फैलाउने काम भएको भन्दै सांसद श्रेष्ठको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको छ।

आगलागीका सम्बन्धमा सांसद श्रेष्ठले लगाउनुभएको आरोप र त्यसको पुष्टि भएको तथ्यबारे भने संसदमा तत्काल कुनै स्वतन्त्र प्रमाण प्रस्तुत भएको उल्लेख छैन।