काठमाडौं, साउन १९ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताको विश्वास कायम गर्न नसके समाजमा नकारात्मक र खराब प्रवृत्तिले स्थान ओगट्ने बताउनुभएको छ। उहाँले नेपाली समाज र लोकतन्त्रलाई सही दिशामा अघि बढाउन राजनीतिक दलहरूले जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
मंगलबार दाङमा पश्चिम नेपालका कम्युनिष्ट आन्दोलनका अग्रज, त्यागी, निष्ठावान् तथा इमानदार व्यक्तित्व स्वर्गीय शोभाराम बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गर्न आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्नुभएको हो। उहाँले अहिले प्रमुख राजनीतिक दल र जनताबिचको सम्बन्ध कमजोर बन्दै गएको उल्लेख गर्दै भन्नुभयो, “यतिबेला नेपालका प्रमुख राजनीतिक दलको जनतासँगको सम्बन्ध टुट्दै गएको छ, राजनीति नेता–कार्यकर्तामा मात्रै सीमित हुने अवस्था आएको छ, जनताको मनोविज्ञान बुझ्ने विषयमा हामी धेरै पछाडि परेका छौँ।”
महासचिव पोखरेलले राजनीतिक दलहरूले आफ्ना कमजोरी स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउँदै, “हामी सही थियौँ, जनता बुझेनन् भन्ने सोच राख्यौँ भने जनतासँगको सम्बन्ध कहिल्यै मजबुत हुँदैन, जनताको विश्वास जित्न सकिएन भने खराब प्रवृत्तिको हाबी हुने रहेछ,” भन्नुभयो।
उहाँले विगतको निर्वाचन परिणामको समीक्षा गर्दै पुराना राजनीतिक शक्तिहरूले आफ्ना उपलब्धि र योगदान जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्दा अपेक्षित परिणाम हासिल गर्न नसकेको बताउनुभयो। जनताबाट दलहरू किन टाढिँदै गएका छन् भन्ने विषयमा आत्मसमीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो।
देशको वर्तमान राजनीतिक अवस्थालाई चुनौतीपूर्ण रहेको उल्लेख गर्दै महासचिव पोखरेलले झण्डै दुईतिहाइ मतको समर्थन प्राप्त सरकारले समेत मुलुकलाई स्थायित्व दिन नसकेको टिप्पणी गर्नुभयो। उहाँले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि चुनौती देखिएको दाबी गर्दै सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै, “संविधान जीवित छ, कानुनहरू क्रियाशील छन् तर प्रधानमन्त्री संविधान र कानुनअनुसार नभई स्वेच्छाचारी ढङ्गले अघि बढ्नुभएको छ,” भन्नुभयो।
प्रशासनिक संयन्त्रलाई बेवास्ता गर्दै सल्लाहकारमार्फत शासन सञ्चालन गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उहाँले श्रमजीवी वर्गको भरोसा समेत कमजोर पारिएको बताउनुभयो।
महासचिव पोखरेलले नेपालको वामपन्थी आन्दोलनले इतिहासकै ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै त्यसबाट पुनः संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले डिजिटल युगमा सही विचार र चेतनालाई समाजमा स्थापित गर्न चुनौतीपूर्ण रहेको बताउँदै आन्दोलनलाई नयाँ ऊर्जा र नयाँ शिराबाट पुनर्जीवित गर्नुपर्नेमा जोड दिनुभयो।
“आजको डिजिटल दुनियाँमा सही कुरा स्थापित गर्न निकै गाह्रो छ। त्यसैले सही विचार र मान्यताका आधारमा समाजलाई सही दिशातर्फ निर्देशित गर्ने अभियानलाई नयाँ ढङ्गले अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्