जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार १३:०१

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको भाउ


काठमाडौं, पुस २५

पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला रु एक हजारले सुनको मूल्य घटेको थियो । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ३०० पुगेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला र ७५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबारको तुलनामा रु १५ ले घटेर चाँदीको मूल्य प्रतितोला रु ८८५ पुगेको छ । नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

महासङ्घले बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० निर्धारण गरेको थियो । सामान्य उतारचढावका बीच कारोवार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो । अहिले अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ ।

आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ । विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासङ्घले जनाएको छ ।