जनता टाइम्स

२२ असार २०८२, आईतवार १३:०७

एमाले विधान महाधिवेशन : चर्चा एकातिर, आवश्यकता अर्कैतिर


पैसा सबैथोक हो, पैसाले टिकट किन्न सक्छ, चुनाव जित्न पैसावाल नभइ हुदैन भन्ने भाष्य पार्टीभित्र जबर्जस्त स्थापित गर्न खोजिंदैछ । पार्टीमा चुनाव लड्ने, पद पाउने केही निश्चित मानिस मात्र हुन भन्ने मनोविज्ञान नजाँनिदो पाराले प्रवाह गरिंदैछ । त्यस्तै अभ्याश पनि भइरहेको देखिएको छ । अधिकार प्राप्तिको आन्दोलनमा सम्पत्ति गुमाएका, अङ्गभङ्ग भएका, जेलनेल खाएका अगुवा नेता कार्यकर्ताहरू लिलिपुटजस्ता र पैसावालहरू (पैसाकमाइको स्रोत जेसुकैहोस) गुलिभर जस्ता देखिनु एमालेको अहिलेको चुनौति हो ।

निर्मलकुमार भट्टराई

नेकपा एमालेको विधाान महाधिवेशनको मिति नजिकिंदै जाँदा नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र पार्टीलाई आगामी दिनमा अझ सशक्त बनाउन आफ्नो नीति र विधानलाई कसरी समय सापेक्ष बनाउने भन्ने बहस सुरू भएको छ । पार्टीको मार्गदर्शक सिध्दान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई नेपालको विशिष्ट परिस्थितिमा प्रभावकारी ढङ्गले लागू गर्न तय गरिने कार्यदिशालाई बढी बस्तुनिष्ट, व्यवहारिक र जनकेन्द्रित कसरी बनाउने भन्ने विषय अहिले एमालेको लागि प्रमुख सवाल हो ।

देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू भएको एकदशक वितिसक्दा पनि एमालेको विधान पूर्णरूपेण संविधान तय गरेको शासकीय ढाँचामा ढाल्न सकिएको छैन । निर्वाचनबाट श्रेष्ठता हासिल गर्ने, सत्तामा रहँदा जनमुखी कार्यमार्फत शक्ति सञ्चय गर्दै समाजवादमा जाने कार्यनीति बनाएको एमालेले सोही अनुरूप का पार्टी संरचना निर्माण गर्न विधानका कैयौं धारामा संशोधन गर्नुपर्नेछ । जुनजुन तहमा आवधिक निर्वाचन हुन्छ, ती तहमा कार्यकारी कमिटी रहने गरी विधानमा संशोधन आवश्यक छ । पार्टी केन्द्रले तय गरेका नीति सोझै जनतामा पुर्याउन एमालेको कमिटी प्रणालीलाई चुस्त बनाउने गरी विधान संशोधन गर्न सकिए मात्र ०८४ मा पार्टीले सफलता हासिल गर्न सक्छ । हाल सञ्चार माध्यममा अत्यधिक चर्चामा रहेका ७० वर्षे उमेरहद र दुई कार्यकाल केवल प्राविधिक विषय हुन्, ती विषयले एमालेको पार्टी जीवनमा खासै महत्व राख्दैनन ।

माथि नै भनियो, नेपाल कम्युनिष्ट पार्टी एमाले मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिध्दान्त मान्ने पार्टी हो । विगतमा यो पार्टीले आफ्नो मार्गदर्शक सिध्दान्तबारे कार्यकर्ता पङ्क्तिमा बारम्बार प्रशिक्षण, छलफल र अन्तरकृया गर्दै आएको थियो । एमालेको पार्टी जीवनमा वैचारिक प्रशिक्षण अभिन्न अङ्गको रूपमा स्थापित थियो । पछिल्ला दिनमा आधारभुत तहमा वैचारिक प्रशिक्षण ठप्पप्रायः छ। एमाले माओवादी एकता हुँदादेखि भाँडिएको एमालेको प्रशिक्षण र पठन संस्कृति एमालेमा ओवादीको पिण्डम स्थाने पिण्डम भएको यति लामो समय भइसक्दा पनि लयमा फर्किएको छैन।आसन्न विधान महाधिवेशनले संघीय निर्वाचन क्षेत्रीय कमिटीलाई विधानमै व्यवस्था गरेर आधार भूत तहको पार्टी स्कुल सञ्चालन गर्ने अधिकार दिनु उपयुक्त हुन्छ ।

साथै देशमै सबभन्दा ठूलो साङ्गठानिक सञ्जाल भएको नेकपा एमाले नै हो । तर विधानले तोके बमोजिमका तृणमूल तहसम्मका सबै कमिटीलाई पूर्णरूपेण सक्रिय बनाउने र सबै पार्टी सदस्यलाई पार्टीको कुनै न कुनै जिम्मेवारीमा सङ्गठित गर्ने वैधानिक ग्यारेन्टी गरिनु पर्छ । कम्युनिष्टहरू छुट्टै धातुले बनेका मानिस हुन्छ भनिन्छ । यदि यो भनाइलाई मान्ने हो भने एमालेका कार्यकर्ता सांस्कृतिक रूपले अरूभन्दा भिन्न हुनुपर्छ । नेता कार्यकर्ताको दन्द्ववादी विश्व दृष्टिकोण, जनताबाट सियो पनि नलिने त्यागी चरित्र, राज्यकोष, सार्वजनिक र निजी सम्पत्ति समेतप्रतिको निःस्पृहता, सेवाभाव र देशभक्ति एमाले पङ्क्तिको लागि अपरिहार्य छन् ।

तर पेचिला वैचारिक साङ्गठानिक अभियानको अभावमा सम्पूर्ण एमालेजनमा यो पक्ष घुर्मैलो बनेको छ । केन्द्रीय, प्रादेशिक र स्थानीय सत्तामा पुगेपछि जे गरेपनि हुन्छ भन्ने भाव एमालेका नेता कार्यकर्तामा पलाउन थालेको छ । यस्ता अभियानमार्फत यसलाई बेलैमा करेक्सन नगर्ने हो भने एमालेले आफूलाई अरूभन्दा भिन्न बनाउन सक्दैन । पदलाई सम्पत्ति ठान्ने र सम्पत्तिलाई पदप्राप्तिको साधन बनाउने पूँजीवादी प्रवृत्तिलाई बेलैमा काँडेतार नलगाउने हो भने एमाले एमाले जस्तो रहँदैन । एमालेको विधान महाधिवेशन यसको लागि कोसेढुङ्गा सावित हुनसक्दछ ।

भन्न परोइन, पार्टीको दीर्घजीवन त्यो पार्टीका नेता नेताबीच, नेता कार्यकर्ताबीच र कार्यकर्ता कार्यकर्ताबीचको भावनात्मक सम्बन्ध कस्तो छ भन्नेमा निर्भर गर्दछ । पार्टी निर्माणको शुरूवाती चरणमा अद्वितीय भावनात्मक सम्बन्ध विकास गरेको एमालेले संसदीय राजनीतिका साढे तीनदशकमा भावनात्मक सम्बन्धमा ठूलो क्षयीकरण भोगेको छ । कमरेड्ली सम्बन्ध हुनुको सट्टा एक आपसमा शत्रुवत सम्बन्ध भोगेको छ । एकआपसमा सिर्जनात्मक आलोचना(आत्मालोचनाको परम्परालाई कयौंपटक ध्वंसात्मक गालीगलौजले विस्थापन गरेको छ । पार्टीभित्र भावनात्मक एकता बनाइ राख्न नसक्दा पटक पटक एमालेले विभाजन र विग्रह भोगेको छ । पदीय महत्वाकाङ्क्षा, व्यक्तिगत स्वार्थप्रेरित गतिविधिहरूलाई निस्तेज पारिनु पर्दछ ।

अधिकारप्राप्तिको आन्दोलनमा वलिदानको प्रश्न प्रमुख हुन्थ्यो । पञ्चायत र राजतन्त्रविरोधी आन्दोलनको नेतृत्व गर्दा मारिने वा जेलनेल, अङ्गभङ्ग हुने अवस्था हुन्थ्यो । अधिकार प्राप्तिको चरणबाट देश समृध्दिको चरणमा प्रवेश गरेको छ । अब एमालेलाई राज्यको नेतृत्व गर्ने अवसर प्राप्त छ । देशको मुख्य पार्टी हुनुको नाताले तीन तहका सरकारमा एकैपटक सबै तहमा वा कुनै न कुनै तहको अविछिन्न नेतृत्व गर्ने अवसर एमालेलाई छ । राज्यको नेतृत्व गर्ने अवसर पाउँदा प्राप्त हुने अवसरहरूको पार्टीभित्र न्यायोचित वितरण कसरी हुन्छ भन्ने अहिले प्रमुख सवाल बनेर खडा भएको छ । एकातिर अवसरहरूको न्यायोचित वितरणमा नेतृत्व चुक्ने र अर्कोतिर नेता कार्यकर्ता अवसर प्राप्तिको लागि जायज नाजायज सबै हथकण्डा प्रयोग गर्न पछि नपर्ने प्रवृत्ति हावी हुँदै गएको छ ।

पैसा सबैथोक हो, पैसाले टिकट किन्न सक्छ, चुनाव जित्न पैसावाल नभइ हुदैन भन्ने भाष्य पार्टीभित्र जबर्जस्त स्थापित गर्न खोजिंदैछ । पार्टीमा चुनाव लड्ने, पद पाउने केही निश्चित मानिस मात्र हुन भन्ने मनोविज्ञान नजाँनिदो पाराले प्रवाह गरिंदैछ । त्यस्तै अभ्याश पनि भइरहेको देखिएको छ । अधिकार प्राप्तिको आन्दोलनमा सम्पत्ति गुमाएका, अङ्गभङ्ग भएका, जेलनेल खाएका अगुवा नेता कार्यकर्ताहरू लिलिपुटजस्ता र पैसावालहरू (पैसाकमाइको स्रोत जेसुकैहोस) गुलिभर जस्ता देखिनु एमालेको अहिलेको चुनौति हो ।

गरिब, श्रमजीवी र मध्यमवर्गको बाहुल्य रहेको एमाले पङ्क्ति लिलिपुट हुने र मुठ्ठीभर अकुत पैसावालहरू पार्टीमा गुलिभर हुनसक्ने परिस्थितिलाई काबूमा लिन एमाले नेतृत्वलाई सफल बनाउन पनि यस्ता प्रशिक्षण, साङ्गठानिक अभियान र राष्ट्रव्यापी नेता कार्यकर्ता अन्तरक्रिया एमालेलाई अति आवश्यक छ । स्वतन्त्रता, समानता, समाजवाद र कालान्तरमा साम्यवादसम्म पुग्ने लक्ष्य राखेको एमालेले बेलाबेला जिउ टक्टक्याएन भने,आफैंलाई धोइपखाली गरेन भने बाटैमा जुका, जुम्रा र अन्य परजीबीको शिकार नहोला भन्न सकिन्न ।

नेकपा एमालेमा जतिसुकै दृश्य अदृश्य समस्या र चुनौति भएपनि देशका अरू प्रमुख पार्टी भन्दा वैचारिक, सङ्गठनात्मक दृष्टिले एमाले सुदृढ र शक्तिशाली नै छ । यसलाई देश र जनताको पक्षमा अझ बढी उत्तरदायी र जवाफदेही बनाउनु सबै ‘सानाठुला’ एमालेजनको साझा दायित्व हो ।
(लेखक भट्टराई नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ः सं)