जनता टाइम्स

२२ असार २०८२, आईतवार १७:३१

समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छ : सभामुख विष्ट


मोरङ, २२ असार । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीले समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताउनुभएको छ । ‘नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष’द्वारा आज यहाँ आयोजित झीलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारबाट मोरङस्थित बिबिसीका समाचारदाता विक्रम निरौलालाई नगदसहित सम्मान गर्दै सभामुख विष्टले बालविवाह, महिला हिंसा, छुवाछुथ प्रथा र दाइजो प्रथा अन्त्यका लागि समाजमा समाचारको माध्यमबाट जनचेतना फैलाउनुपर्ने सुझाव दिनुभयो । सभामुख विष्टले लुईटेल परिवारले यस क्षेत्रमा स्वास्थ्य, शिक्षा एवम् विकासमा महत्वपूर्ण योगदान गरेका कारण उहाँहरुको सम्झना पछिसम्म रहिरहने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जनप्रतिनिधिले गरेका विकास एवं सामाजिक कार्य राम्रो भए प्रशंसा एवम् नराम्रोको आलोचनात्मक टिप्पणी गरी सुझाव दिन आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्रबहादुर राउतले लुईटेल परिवारको यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । सो अवसरमा सभामुख विष्टले छात्रपति लुईटेल निवृत्त शिक्षक सम्मानबाट शिवबहादुर अधिकारी तथा जेहेन्दार छात्रवृत्तितर्फ रोजिना गच्छदार र आयुश रक्त्वेलाई नगदसहित सम्मान गर्नुभएको थियो । सभामुख विष्टले सोही अवसरमा छत्रपत्रि लुईटेल स्मृति ग्रन्थ पुस्तक विमोचन समेत गर्नुभयो ।