जनता टाइम्स

२२ असार २०८२, आईतवार ११:१५

१४ वर्षकै उमेरमा विवाह, किशोरी माइती गएपछि ससुरालीको हत्या


काठमाडौं, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारकाा चार जनाको हत्या भएपछि गाउँ शोकमा डुबेको छ। गएराति एकै घरका चार जनाको हत्या भएको घटनास्थलमा अहिले स्थानीयको बाक्लो उपस्थिति छ। ओल्लोपल्लो गाउँका मान्छेहरू डिलमुनी, डिल माथि बसेर अहिले घटनाको अनुसन्धानमा प्रहरीलाई सघाइरहेका छन्।

घटनाको जानकारी पाएपछि प्रहरीको टोली आइतबार बिहान सबैरै घटना स्थलमा पुगेको छ। इलाका प्रहरी कार्यालय घोडेटार, जिल्ला प्रहरी कार्यालय भोजपुर लगायतका ठाउँबाट प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान थालेको हो। धोद्लेखानी बोन्थिताङका गाउँलेले यसअघि कहिल्यै यस्तो बीभत्स घटना देखेका थिएनन्। राति गाउँमा के भयो कसैले पत्तो समेत पाएनन्। बिहान भाले नबास्दै प्रहरी गाउँमा पुगेपछि मात्रै घटनाको बारेमा जानकारी पाएको स्थानीय बताउँछन्। भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गएराति एकै परिवारका चार जनाको सामूहिक हत्या भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। भोजपुरमा ज्वाइँले पत्नीसहित ससुराली पक्षका चार जनाको हत्या गरे, आरोपी पनि गम्भीर घाइते

पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । भोजपुर नगरपालिका–२ हेलाउँछ बस्ने ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर पत्नीसहित उनका माइती पक्षका चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

राजेन्द्रले आफ्नै करिब १५ वर्षीया श्रीमती, १० वर्षीय सालो, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सासू ४५ वर्षीया मञ्जु गिरीको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या भएकी किशोरी (आरोपीकी पत्नी) र उनका भाइको नाम प्रहरीले खुलाएको छैन । हत्या पछि राईले आफैँमाथि पनि खुकुरी प्रहार गरेका छन्। अवस्था गम्भीर रहेका राजेन्द्रलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ।

यस्तो घटनाको विवरण

रामप्रसाद राई गाउँपालिका २ को धोद्लेखानी बोन्थिताङकी किशोरीलाई राजेन्द्रले खुब मन पराउँथे। गत वर्ष उनले किशोरीसँग विवाह गर्न अभिभावकसँग प्रस्ताव गर्छन्। बल्ल १४ वर्ष उमेरकी ती किशोरीका परिवारले उनलाई विवाह गरेर दिन मान्दैनन्।

त्यसपछि राजेन्द्रले उनलाई भगाएर लग्छन्। एक वर्ष अघि मात्रै भागेर भोजपुर नगरपालिका–२ हेलाउँछ बस्ने ३० वर्षीय राजेन्द्र राईको घर गएकी किशोरीलाई त्यहाँ बस्न सहज थिएन। परिवारले हेला गरेको कारण उनी पछि माइती फर्किएको स्थानीयहरू बताउँछन्।

स्थानीयका अनुसार, १४–१५ वर्षकै उमेरमा विवाह गरेर गएकी किशोरीलाई विभिन्न खालको शारीरिक तथा मानसिक यातनाको कारण त्यहाँ बस्न सक्ने अवस्था नभएपछि उनी माइतीको शरणमा आएकी थिइन्। केही समयपछि नै राजेन्द्र उनलाई लिन ससुराली नै पुग्छन्। १५ दिन अघि देखि राजेन्द्र ससुरालीमा बस्दै आएको भन्ने जानकारी छिमेकीले गराएको रामप्रसाद राई गाउँपालिका २ का वडा सदस्य प्रभा राई तामाङले बताउनुभयो ।

किशोरी आफूसँग जान नमानेको र अभिभावकले पनि किशोरीलाई नै साथ दिएको आवेगमा राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममता पूर्वक हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले आफ्नै हातबाट यी सबैको ज्यान लिएपछि आफैँ प्रहरीलाई फोन गरेर ‘मैले यस्तो गरेँ’ भन्दै जानकारी गराएका प्रहरीले जनाएको छ।

यो घटना सामान्य पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रारम्भिक विवरणमा राजेन्द्रले नाबालिग किशोरीलाई भगाएर विवाह गरेका थिए। विवाहपछि उनले किशोरीलाई भोजपुर लिएर गए। तर एक वर्ष नबित्दै श्रीमती माइती फर्किएपछि सम्बन्ध बिग्रिन थाल्यो।

श्रीमतीलाई जबरजस्ती घर लान खोज्ने राजेन्द्रको ससुराली पक्षलाई झगडा चर्किँदै जाँदा हिंसात्मक घटना भएको प्रहरीले जनाएको छ। घटना राति १२ः३० बजेतिर भए पनि प्रहरी आज बिहान साँढे ३ बजेतिर मात्रै घटनास्थलमा पुगेको थियो। हत्या गरिएका ४ जनाको शव अहिले पनि घटनास्थलमै छ। घटनास्थलमा प्रहरीको टोली परिचालित भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।