जनकपुरधाम, २२ असार । नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कित्ताकाट गर्न आवश्क नरहेकाे बताउनुभएकाे छ।
उहाँले दुई नेता बीच कुनै अन्तरविरोध नरहेको दाबी गर्नुभयाे। आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले ‘भण्डारीलाई लिएर पार्टीमा कित्ताकाट गर्नु बेकार भएकाे बताउनुभयाे । ‘दिनहुँ कित्ताकाटको समाचार आइरहेका छन्, तर त्यसमा कुनै सत्यता छैन,’ महासेठले भन्नुभयाे, ‘अध्यक्ष र पूर्वराष्ट्रपतिको बीचमा कुनै मतभेद छैन, उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने त्यो अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा हुनेछ।’
महासेठका अनुसार, पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन संविधान वा पार्टीको विधानले कुनै रोकटोक गर्दैन। ‘हाम्रो सचिवालयमा पनि यसबारे छलफल भइसकेको छ,संविधान र विधानले रोक्ने कुनै व्यवस्था छैन,’ उहाँले भन्नुभयाे ।
महासेठले दुई नेताकाे विषयमा पार्टीभित्र केही व्यक्तिले जानाजान अन्तरविरोध सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयाे। ‘केही एक–दुईजनाले यस्तो चर्चा चलाउन खोजिरहेका छन्, जुन स्वस्थ राजनीतिक संस्कृतिका लागि राम्रो होइन,’ उहाँले भन्नुभयाे ।
आउँदो महाधिवेशनसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी अगाडि बढ्ने उहाँले दाबी गर्नुभयाे । ‘पार्टी अध्यक्ष केपी ओलीकाे कुनै विकल्प छैन’, उहाँले भन्नुभयाे ।
भण्डारीले सक्रिय राजनीतिमा आउँछुमात्र भनेकाे बताउँदै उहाँले कसरी अघि बढ्ने केही कुरा गर्नु नभएकाे उहाँले स्पष्ट पार्नुभयाे । आफूलाई समेत कित्ताकाट गरिएकाे भन्दै उहाँले त्यसकाे प्रतिवाद गर्नुभयाे । ‘पार्टी अध्यक्ष र पूर्वराष्ट्रपतिको बीचमा कुनै अन्तरविरोध छैन, यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षको सहमति र प्रस्तावमा आउनुहुन्छ’, उहाँले भन्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्