जनता टाइम्स

२२ असार २०८२, आईतवार १९:००

प्रधानमन्त्रीबाट ओलीबाट हुम्लामा बेलिब्रिज उद्घाटनसँगै ७७ वटै जिल्लाका सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालसँग जोडिए


काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्नुभएको छ ।

योसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । अब देशका ७७ वटै जिल्लाका सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । पक्की पुल निर्माण गर्न समय लाग्ने भएपछि नेपाली सेनाले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो ।

गएको वर्षको चैत अन्तिम हप्ता नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गतको २ सय ८६ किलोमिटर ट्र्याक खोलेपछि सिमकोटसम्म गाडी चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा प्रत्यक्ष रूपमा जोडिएको थिएन ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा नै शिलान्यास भएको थियो । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।

केही दिनअघि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने दशकौं पुरानो सपना पूरा हुन लागेको र यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी देश चीनसँग जोडिने उल्लेख गर्नुभएको थियो ।