काठमाडौं, पुस २८ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नेताहरूलाई पार्टी निर्णय नमान्ने घोषणा गर्नुभएको हो ।
दुवै अध्यक्षले शुक्रबार बालुवाटार बोलाएर राजीनामा दिन गरेको आग्रह अस्वीकार गरेपछि तुम्बाहाम्फेलाई आइतबार दोस्रो पटक बालुवाटार बोलाएर छलफल गर्नुभएको हो । नेकपाको सचिवालय बैठकले शनिबार तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। तर उहाँले पार्टी निर्णय आफूलाई थाहा नभएको, आफूले राजीनामा नदिने र संसद् बैठक चलाएर प्रक्रिया अगाडि बढाउने बताएपछि आइतबार पुनः बालुवाटार बोलाइएको थियो । बालुवाटार पुग्नुअघि तुम्बाहाङफे आइतबार बिहानै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर संसद् बैठक सञ्चालनका लागि गृहकार्य थाल्नुभएको थियो । १७ पुसदेखि स्थगित संसद् बैठक आइतबारका लागि डाकिएको थियो।
तुम्बाहाङफेको अडानपछि प्रधानमन्त्री ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । दुई अध्यक्षबीच संसद बैठक, उपसभामुखको राजीनामा र सभामुख चयनबारे छलफल गरिरहँदा उहाँ सिंहदरबारमा सचिवालयका कर्मचारीसँग संसद चलाउने तयारीमा जुटेपछि बालुवाटार बोलाइएको थियो । संसद् सचिवालय र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि उपसभामुख तुम्बाहाङफेलाई संसद बैठक अगाडि नबढाउन आग्रह गर्नुभएको थियो । अटेरी गर्दै संसद् चलाउने प्रयासमा लागेपछि बालुवाटार बोलाएर राजीनामा दिन भनिएको थियो । ओली–दाहालले तुम्बाहाङफेसँग छलफलका लागि महासचिव बिष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पनि बालुवाटार बोलाइएको थियो। चार नेताले एकसाथ उहाासँग छलफल गरे पनि मनाउन नसकिएको हो ।
सुरुमै पार्टीको शनिबारको निर्णयप्रति तुम्बाहाङफेले जिज्ञासा राख्नुभएको थियो । पार्टी नेताहरूले उनलाई उपसभामुखबाट राजीनामा दिन आग्रह गरेपनि अस्वीकार गर्नुभएको हो । ‘शनिबारको पार्टी निर्णय उपसभामुखलाई जानकारी गराइयो, संसद्को सभामुख पार्टीले छाड्न नसक्ने भन्दै संवेदनशीलता बुझ्न आग्रह गरियो, तर उहाँले मान्नुभएन,’ बैठकपछि एक नेताले भने । ‘राजीनामा गर्न निर्देशन’ भनेपछि उपसभामुख तुम्बाहाम्फेले आफूलाई राजीनामा गर्न निर्देशन गर्ने हैसियत सचिवालयलाई कहाँबाट आयो भन्दै प्रश्न गर्नुभएको थियो ।
‘तपाईंहरूले त्यसरी निर्देशन दिन मिल्छ ? कुनै दलमा नभएको व्यक्तिलाई राजीनामा देऊ भनेर निर्देशन दिन कहाँ मिल्छ ? यो निर्णय गर्ने हैसियत तपाईंहरूलाई कसरी आयो ? ,’ तुम्बाहाङफेको भनाई थियो, ‘मलाई राजीनामा दिन लगाउने निर्णय कसले लेखेको हो ?’ तुम्बाहाम्फेको प्रश्नको जवाफ दिँदै महासचिव पौडेलले आफूले लेखेको जनाउ दिनुभयो र भन्नुभयो, ‘मैले लेखेको।’ तर तुम्बाहाङफेले सचिवालय निर्णय फिर्ता लिन महासचिव पौडेललाई नै आग्रह गर्नुभयो । ‘तपाईंले लेखेको त्यो निर्णय फिर्ता लनोस, यसरी तपाईंहरूले निर्णय गर्न सक्नुहुन्न, म राजीनामा दिन्नँ। संविधानले संसद्को सभामुख रिक्त हुने व्यवस्था गरेको छैन, तपाईंहरूले सभामुख कसलाई बनाउने निर्णय लिनुभयो, त्यो निर्णय पहिले देखाउनुहोस्, छैन भने म राजीनामा दिन्नँ।’
तुम्बाहाङफेले पार्टीले आफ्नो राजीनामाभन्दा पहिले सभामुखको उम्मेदवार को हुने निर्णय लिनुपर्ने र त्यो उम्मेदवारका रूपमा आफ्नो नाम नभए आफूले के कारणले राजीनामा दिनुपर्ने हो त्यो विषय लिखित रूपमै खुलाएर आफूलाई पत्र दिनुपर्ने माग पनि गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्