जनता टाइम्स

१५ माघ २०७६, बुधबार १९:१०

मन्त्री गुरुङले गराए गैर सरकारी संस्थालाई सचेत


काठमाडौं, माघ १५ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारको नीति तथा कार्यक्रमको परिधि भित्र रहेर मात्रै काम गर्न गैर सरकारी संस्था (आइएनजीओ) हरुलाई सचेत गराउनु भएको छ ।

मन्त्री गुरुङले गैर सरकारी संस्थाहरुले संविधान, कानुन र सरकारको नीति तथा कार्यक्रमभन्दा बाहिर गएर काम गरे कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । गोगो फाउन्डेशनले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नेपालका नागरिक संस्थाहरुमा असल अभ्यासका सूचकहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सामाजिक संघ, संस्थाहरुले मुलुकलाई समृद्ध बनाउने सरकारको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न गैर सरकारी संस्थाहरुले पनि सरकारसँग मिलेर काम गर्नुको विकल्प छैन,’ मन्त्री गुरुङले भन्नु भयो, ‘सरकारको नीति तथा कार्यक्रममा समावेश भएर अघि नबढने कुनै पनि संघ, संस्थालाई सरकारले नियन्त्रण गर्छ ।’

मन्त्री गुरुङले सरकारले कुनै पनि सामाजिक संघ, संस्थालाई नियन्त्रण गर्ने नीति नलिएको पनि पटकपटक दोहोरयाउनु भयो । उहाँले सामाजिक संघ, संस्था सम्बन्धि ऐन सरकारवाला निकायको राय सुझावको आधारमा मात्रै अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।