जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १८:२२

मुख्यमन्त्री गुरुङको निश्कर्ष : पार्टी भित्रैबाट एकले अर्कालाई सिध्याउने काम हुँदा प्रतिक्रियावादी उत्साहित बने


पोखरा, फागुन १२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासँगको सम्बन्ध मजवुत पार्न उनीहरुको घरघरमा पार्टी पुग्नुपर्ने आवश्यकता औल्याउनु भएको छ ।

नेकपाका गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै सो प्रदेशका पार्टी इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले जनता र पार्टीबीचको सम्बन्ध बिग्रँदै गएको भन्दै जनताका सुखदुःखमा साथ र सहयोगका लागि उनीहरूका घर एवं बस्तीमा पुग्नुपर्ने आवश्यकता औँल्याउनु भएको हो ।

कम्युनिष्ट पार्टी जनताको कसीमा बाँधिनुपर्नेमा जोड दिँदै उहाँले पार्टीको अस्तित्व सक्ने गरी कुनै पनि गतिविधि एवं क्रियाकलाप गर्न नहुने बताउनुभयो । जनतामा आधारित पार्टीका रूपमा यसको विकास हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने र अन्तरघातबाट पार्टीलाई बचाउनुपर्ने बताउनुभयो ।

पार्टी भित्रैबाट आफैँलाई सिध्याउने काम हुँदा प्रतिक्रियावादीलाई सजिलो भएको छ भन्दै उहाँले आगामी दिनमा पार्टीलाई थप मजबुत र एकताबद्ध बनाउनका लागि गोपनीयता, इमान्दारी जस्ता कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । पार्टीमा सादा जीवन उच्च विचारको आदर्शलाई कायम गराउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसलाई नेकपाले जीवित तुल्याउन प्रयत्न गरिरहेको बताउनु भयो ।