जनता टाइम्स

२४ फाल्गुन २०७६, शनिबार ०७:३३

कोरोनाभाइरस : ५७ हजार मानिस निको भएर घर फर्किए, ठिक हुने दर ९४ प्रतिशत


काठमाडौं, फागुन २४ ।  कोरोना भाइरस संक्रमितमध्ये साढे ५५ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।

गएको डिसेम्बर अन्तिममा चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमित भएका ५५ हजार ६ सय ४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा धेरै ८० हजार ५ सय ५४ जनामा संक्रमण भएको पुष्टि भएकोमा ५३ हजार ७ सय ६४ जना उपचारपछि घर फर्किएका छन् । यस्तै चीन बाहिर १७ हजार ८ सय ७४ जनामा संक्रमण भएको पुष्टि भएकोमा १ हजार ८ सय ७७ जना उपचार पछि घर फर्किएका छन् । यसैगरी कोरोना संक्रमितमध्ये ३ दशमलव ४ प्रतिशतको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । विश्वका ९० देशमा फैलिएको कोरोनाका कारण ३ हजार ३ सय ८६ जनाको ज्यान गएको छ ।

संगठन अनुसार ज्यान गुमाएकामध्ये १४ दशमलव ८ प्रतिशत ८० वर्ष माथिका र ८ प्रतिशत ७० देखि ७९ उमेर समूहका छन् । यस्तै ६० देखि ६९ उमेर समूहका ३ दशमलव ६ प्रतिशत, ५० देखि ५९ उमेर समूहका १ दशमलव ३ प्रतिशत, ४० देखि ४९ उमेर समूहका शून्य दशमलव ४ प्रतिशत, १० देखि २९ उमेर समूहका शून्य दशमलव २ प्रतिशतको ज्यान गएको छ भने ९ वर्षसम्मको उमेर समूहका कसैको पनि ज्यान गएको छैन । यसैबीच भुटानमा पहिलो कोरोना संक्रमित भेटिएका छन् । गएको सोमबार भारत हुँदै भुटान पुगेका ७६ वर्षका अमेरिकी नागरिकमा कोरोना भएको पुष्टि भएको हो ।