काठमाडौं, चैत ३ । कोरोना भाइरसको मौका छोपी कालोबजारी गर्नेहरुबिरुद्ध सरकारले एक्शन सुरु गरेको छ । त्रासमा समान लुकाएर महंगोमा बेच्ने काम बढन थालेपछि सरकारले छापा मारेर कार्वाही थालेको हो । यही क्रममा प्रहरीले आज काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई जना व्यापारीलाई पक्राउ गरेको छ ।
आज बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडीजी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरी गोयललाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार छापा मारी गोयलले आफ्नो गोदाममा लुकाएर राखेको १७७ बोरा मास्क जफत गरिएको छ । आरजेडी सप्लायर्सले २२ लाख रुपैयाँमा चीनबाट किनेर ल्याएको मास्क नेपाली बजारमा उच्च मूल्यमा बेचेको देखिएपछि सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बरामद मास्क ४ हजार ३७५ केजी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बरामद मास्कको एउटा बोरामा १०० प्याकेट मास्क रहेको र एक प्याकेटमा ४८ थान रहेको पाइएको छ ।
प्रहरीका अनुसार शनिबार र आइतबार बरामद गरिएको मास्क पनि गोयलले नै बढी मुल्य लिएर खुद्रा व्यापारीलाई बेचेको देखिएको छ । शनिबार र आइतबार पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा सतुंगलमा प्रहरीले छापा मारेको थियो । चीनबाट ल्याइएका मास्क ५२ लाख ५० हजारमा गोयलले बेचेको खुलेको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले प्रहरी र प्रशासनको संयुक्त टोली कलोबजारी विरुद्ध परिचालन भएको बताउनुभयो । उनीहरु विरुद्ध कलोबजारीको ऐन २०३२ अनुसार अनुसन्धान गरेर मुद्दा चलाइने जिल्ला प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्