काठमाडौँ, चैत ५
नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने विक्रेता एवं ढुवानीकर्तालाई कडा कारबाही गर्ने जनाएको छ ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा ग्यासको सहज आपूर्ति भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम विषम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बावजुत पनि निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थहरुको निर्वाध आपूर्ति एवं विक्री वितरण गरिरहेको र आगामी दिनमा पनि सम्पूर्ण पेट्रोलियम पदार्थहरु सहज रुपमा उपलब्ध गराउन निगम प्रतिवद्ध रहेको व्यहोरा सहर्ष जानकारी गराउँदै हालका केही समयमा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारण उपभोक्ताहरुलाई भयवित गराइ फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेता आदिको संलग्नता पाइएमा नेपाल आयल निगम लिमिटेडले कडा कारबाही गर्ने व्यहोरा आश्वस्त पार्न चाहन्छौं।’
यस्तै निगमले उपभोक्तालहरुलाई पनि घरमा हल्लाको पछि लागेर आवश्यक भन्दा बढी ग्यास तथा पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह गरेको छ। निगमले विज्ञप्तिमा भनेको छ, ‘आमउपभोक्ता वर्ग, हल्लाको पछि लागेर अत्यन्त प्रज्वलनशील पदार्थहरुको भण्डारण नगर्नु हुन तथा आवश्यक भन्दा बढी ग्यासको सिलिण्डर घरमा सुरक्षा एवं आगजनीको दृष्टिकोणमा समेत असुरक्षित हुने भएकोले सञ्चय नगर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं।
प्रतिक्रिया दिनुहोस्