दोलखा, चैत ९ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्री वर्षमान पुनसहित गृहजिल्लामा निर्माणाधिन राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत भ्रमण गर्नुभएको छ । दोलखा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री गुरुङले आज बिभागीय मन्त्रीसहित लामाबगर पुगेर आयोजनाको स्थलगत निरीक्षण गर्नुभयो ।
मन्त्रीद्वयले हाल आयोजनाको जलाशयमा पानी भरी बाँध इन्टेक लगायतका संरचनाहरु तथा गेट,स्टपलगहरुको भइरहेको प्राविधिक परीक्षणहरुको अवलोकन गर्नुभयो । आयोजनाको जलाशयमा गत चैत ३ गतेदेखि पानी भर्न सुरु भई आजसम्म करिब जलाशयको पुरा क्षमतामा पानी भरिइसकेको छ । सो भ्रमणमा जलाशय र गेटहरुको सञ्चालन कार्यविधिलगायत अन्य प्राविधिक परीक्षणहरुको बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्रीद्वयले जलाशय, बाँध, इन्टेकको परीक्षण सफल हुँदै गएकोमा सन्तोष पनि प्रकट गर्नुभएको छ ।
सोही क्रममा आयोजनाकै संवेदनशील संरचनाको रुपमा रहेको तल्लो र माथिल्लो पेनस्टक स्याफ्टलगायत भूमिगत विद्युतगृह नजिकैको सुरुङमा जडान भइरहेको स्टील पेनस्टकहरुको जडान कार्यहरुको प्रत्यक्ष अवलोकन गर्नुभयो । साथै, भूमितगत विद्युतगृहको समेत भ्रमण गर्नुभयो । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य आगामी २०७७ असार महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आगामी २०७७ असोज कात्तिक महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाले जनाएको छ । यो आयोजना हालसम्मकै सबैभन्दा ठुलो जलविद्युत आयोजना पनि हो ।
स्थलगत अवलोकनपश्चात् आयोजनाको मुख्य कार्यालय गोंगर, दोलखामा उपस्थित आयोजनाका पदाधिकारीहरु, परामर्शदाता र ठेकेदारहरुका प्रतिनिधिहरुसँग भएको संयुक्त बैठकमा मन्त्री गुरुङले आयोजनाको कार्यप्रगति सन्तोषजनक रुपमा अघि बढेको बताउनु हुँदै आयोजनाको अन्तिम चरणमा क्रिटिकल समस्याहरु आउने र सोको समाधानको लागि अन्तिमसम्मै मेहेनतका साथ लाग्न आयोजना पक्षलाई आग्रह गर्नुभयो । मन्त्री गुरुङले आयोजना ढिलाइ हुनुमा २०७२ सालको महाभूकम्पले ठुलो भूमिका खेलेको बताउनु हुँदै हाल कोरोना भाइरसको महामारीबाट बच्न आयोजनाले म्यानेज गर्नसक्ने कुरा प्रति पनि विश्वास गर्नुभयो ।
एक अर्को प्रसंगमा आयोजनामा दोलखाली जनता र पार्टीहरुबाट निरन्तर सहयोग र समन्वय भएकोले नै आयोजनाले आजको अवस्थामा पुग्न सफल भएको मन्त्री गुरुङले औंल्याउनु भयो । आयोजनामा संलग्न सबैलाई धन्यवाद पनि प्रकट गर्दै आयोजना सिघ्र सफल हुने आशा समेत गर्नुभयो । सो बैठकमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको कार्यप्रगतिको बारेमा प्रस्तुतीकरण पेश गर्नुभएको थियो ।
आजको भ्रमणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली र प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार ई गजेन्द्र थपलिया समेत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्