विराटनगर, चैत २९ । सुनसरीको खनारमा रहेको कुलायन ब्याट्री इन्डस्ट्रीज प्रालिले इटहरी उप–महानगरपालिकालाई २ हजार किलो चामल हस्तान्तरण गरेको छ । चामल शुक्रबार मेयर द्वारिकलाल चौधरीलाई हस्तान्तरण गरिएको हो ।
कुलायन ब्याट्री प्रालिका सञ्चालक गीरेन्द्र कार्कीले इटहरी उपमहानगरपालिका क्षेत्रका विपन्न परिवारको सहयोगका लागि राहत स्वरुप चामल हस्तान्तरण गरिएको जानकारी दिनुभयो । ‘लकडाउनको समयमा धेरै विपन्न परिवार र मजदुर भोकै हुने अवस्था छ, यो समयमा उनिहरुलाई केही सहयोग होस भनेर हामिले चामल हस्तान्तरण गरेका हौँ’ कार्कीले भन्नुभयो, ‘हाम्रो सामाजिक उत्तरदायित्व अन्तरर्गतका यस्तो अभियान जारी रहनेछ ।’ उहाँले कोरोना भाइरससँग लड्ने सरकारको अभियानमा प्रालीको सँधै साथ रहने समेत बताउनु भयो ।
चामल बुझ्दै मेयर चौधरीले विषम परिस्थितिमा उपमहानगर मार्फत विपन्नलाई सहयोग गरेकोमा प्रालीलाई धन्यवाद दिनुभयो । ‘हामी नागरिकलाई सुरक्षित राख्न हर समय प्रयासरत छौँ, यो अभियानमा तपाईहरुले पनि साथ दिनुभएको छ, यस्ता सहयोगी हातहरु प्रति म आभार प्रकट गर्दछु,’ मेयर चौधरीले भन्नुभयो । प्रालीका सञ्चालक तथा युवा व्यवसायी कार्कीले यस अघि विराटनगर ११ का विपन्न परिवारलाई पनि राहत वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्