जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार १२:५१

चीनमा बन्यो कोरोना भाइरस मार्ने औषधी


काठमाडौं, जेठ ७ । चीनको पेकिंग विश्वविद्यालयका वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड १९) संक्रमितलाई निको पार्ने औषधि पत्ता लगाएको दावी गरेका छन ।

पेकिंग विश्वविद्यालय मातहतको बेईजिंग एडभान्स ईनोभेसन सेन्टर फर जियोनमिक्सका निर्देशक सन्ने शीका अनुसार यो औषधि न्युट्रिलाईजिङ एन्टीबडीको सिद्धान्तमा आधारित छ । यो औषधि कोरोनाबाट निको भैसकेका ६० जना मानिसहरुको रगतबाट बनाइएको हो । निर्देशक शीले यो औषधिलाई मुसामा परीक्षण गर्दा सफल सावित भएको बताउनु भयो । मानव परीक्षण चरणको नजिक रहेको यो औषधिले कोरोना संक्रमित विरामीलाई निको पार्नुका अलावा मानव शरीरमा छोटो समयमा रोग प्रतिरक्षा प्राणालीको विकास गर्ने दावी गरिएको छ ।

वैज्ञानिक शी र उहाँको टिमले विकास गरेको यो औषधिका बारेमा गत आइतबार वैज्ञानिक जर्नल ‘सेल’ मा एक रिपोर्ट प्रकाशित भएको छ । एन्टीबडीले कोरोना संक्रमित विरामीलाई निको बनाउँछ भने विरामी निको हुने अवधीलाई पनि छोट्याउँदै लाने जर्नलमा उल्लेख छ । यो औषधिको क्लिनिकल परीक्षणको क्रम जारी रहेको जानकारी पनि वैज्ञानिक शीले गर्नुभएको छ । “हामीले तयार पारेको एन्टीबडी प्रणालीमा आधारित यो औषधि सार्वजनिक प्रयोगका लागि यो बर्ष भित्र तयार हुनेछ । यसका लागि हामी दिनरात काम गरिरहेका छौं,” शिले भन्नुभयो ।

यसअघि पनि एक चिनियाँ स्वास्थ्य अधिकारीले मानव परीक्षण चरणका लागि ५ वटा खोपहरु तयार रहेको बताएका थिए । विश्व स्वास्थ्य संगठनले पनि कोरोनाका विरामीलाई निको पार्ने भ्याक्सिनको निर्माण गर्न कम्तीमा १२ देखि १८ महिनासम्म लाग्ने यसअघि नै बताइसकेको छ । अमेरिकी बैज्ञानिकहरुले पनि कोरोनाको खोप जनवरीसम्म ल्याउन सकिने बताइसकेका छन ।