काठमाडौँ : सांसद नारायणदत्त भट्टले किसानले उत्पादन गरेको कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्ने व्यवस्था सिद्धान्त र प्रथामिकताले सम्बोधन गर्नेमा विश्वास लिनुभएको छ । राष्ट्रियसभा आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा भाग लिँदै उहाँले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यन्वनयका लागि उचित मूल्य र बजार पाउनुपर्नेमा जोड दिनुभएको हो ।
“शिक्षा उत्पादकमूलक छैन । सिद्धान्त र प्राथमिकताले भनिए जस्तै पढ्दै कमाउदै नीति कार्यान्वनमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले विवाहको उमेरहद घटाउन नहुनेमा जोड दिनुभयो । “उमेर पुगेपछि विवाह गर्दा पढाइसँगै रोजगारीको लागि सक्षम हुन्छन् । तसर्थ विवाहका लागि २० वर्ष उमेरहद नै ठीक छ,” उहाँले भन्नुभयो । सांसद गङ्गाकुमारी बेल्बासेले आगामी बजेटमा हिमाली र पहाडी क्षेत्रलाई उपेक्षा गर्न नहुनेमा जोड दिनुभयो । “सिद्धान्त र प्राथमिकतामा मधेश र तराईलाई प्रथामिकता दिइएको छ । पहाड र हिमाललाई उपेक्षा गरियो ।
यसैले मेरो समर्थन छैन,” उहाँले भन्नुभयो । सांसद पदमबहादुर परियारले अर्थतन्त्र चलायमान बनाउनुपर्ने, जनतालाई आशा जगाउनुपर्ने, राज्य र व्यवस्थाविरुद्धको हर्कतको अन्त्य गर्ने गरी सिद्धान्त र प्राथमिकता आएको भन्दै समर्थन जनाउनुभयो । सांसद रेणु चन्दले लैङ्गिक बजेट तर्जुमालाई प्राथमिकता दिन नसकेको, स्वदेशी उत्पादन वृद्धि गर्ने सरकारको नीति प्रष्ट नभएको बताउनुभयो । “जनताको भलो हुने किसिमको बजेट ल्याइयोस् र स्टार्टअफ प्रवर्द्धन नीतिमा कार्यकर्ता प्रवर्द्धन नगरियोस् । प्रभावकारी कार्यान्वयनमा जोड दिइयोस्”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्