काठमाडौं, जेठ १३
सरकारले रुकुम घटनाका विषया छानविन गर्न समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।
गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहेका छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ ।
गृहमन्त्री रामबहादुर थापाले अन्तरजातीय विवाह गर्न खोज्दा जाजरकोटमा भएको घटनाको छानबिन गर्न छानबिन समिति बनाउने राष्ट्रिय सभा बैठकमा जानकारी समेत गराउनु भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गर्ने जानकारी गराउदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाउनु भयो ।
वडा अध्यक्षकै संलग्नतामा उक्त घटना भएको आवाज उठेपछि सोधपुछका लागि सम्बन्धित वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको गृहमन्त्रीले बताउनु भयो । त्यसैगरी, घटनामा संलग्न युवतिका परिवारका १२ जनालाई प्रहरीले अनुसन्धानमा लिएर सोधपुछ गरिरहेको उहाले जानकारी गराउनु भएको छ ।
त्यसैगरी, नदीमा हराइरहेका तीन जनाको खोजीका लागि गोताखोर परिचालन गरिने बताउनु भयो । राष्ट्रिय सभाका सदस्यहरूले उक्त घटनाको स्पष्ट छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्