जनता टाइम्स

२९ असार २०७७, सोमबार १६:२८

भारतीय मिडियाको नेपालबिरोधी हर्कत नियाल्दा


विगत केही महिनायता भारतका केही संचार माध्यमहरुले नेपालको बारेमा निरन्तर ढंगले अन्तरवस्तुहरुको अनर्गल प्रचारबाजी गरिरहेका छन । नेपालको सार्वभौमिकता, स्वाधिनता, स्वतन्त्रता र मर्यादामाथि नै प्रत्यक्षतः दख्खल पुग्ने गरी भैरेहका यस्ता प्रचारवाजीले आमनेपाली जनतालाई हैरानी मात्र बनाएको छै्रन, भारतीय संचार माध्यमहरुको नियतमाथि नै प्रश्नचिन्ह खडा भएको छ । खासगरी भारतीय संचार माध्यमहरुमा देखिनुपर्ने परिपक्वता र जिम्मेवारीताको सन्दर्भमा समेत संशय उत्पन्न भएको छ ।

अपरिपक्व र उत्ताउलो पारामा देखिएका भारतीय संचार माध्यमहरुको प्रस्तुतीले करिब २ सय ४० बर्ष लामो र समृद्ध इतिहास बोकेको भारतीय पत्रकारिताकै खिल्ली उडाउने परिवेश सिर्जना भएको छ । त्यतिमात्र होइन, यसले गर्दा भारतीय मूलधारको पत्रकारितालाई समेत बदनाम बनाउने काम गरेको छ । त्यसो भएको हुनाले यस विषयलाई भारतका जिम्मेवार संचारकर्मी, संचारविद राजनीतिक व्यक्तित्व, परराष्ट्र मामिलाका जानकार र नीति निर्माताहरुले गहन रुपमा सोच्नु पर्दछ र भारतीय पत्रकारितालाई जिम्मेवार र विश्वसनीय रुपमा प्रस्तुत हुन मार्ग दर्शन गर्नु पर्दछ ।

भूगोल र जनसंख्याको हिसावले निकै ठूलो देश भारत पूर्वीय शभ्यता र संस्कृतिको पनि मूल थलो हो । भलै, कम्पनी सरकारको औपनिवेशितामा रहे पनि ज्ञान र शिक्षाको प्रकाश यो क्षेत्रमा धेरै पहिलेदेखि नै भएको हो । पत्रकारिताको विकासको सन्दर्भलाई हेर्ने हो भने पनि सन १७८० मा बंगाल गजेट प्रकाशित भैसकेको थियो । त्यस्तै सन १९२७ देखि रेडियो प्रशारणमा आएको थियो भने १९५९ देखि टेलिभिजन प्रशारण भैसकेको थियो । त्यतिबेलाका अल इण्डिया रेडियो र दुरदर्शन टेलिभिजनका लिगेसी अहिले पनि अनुपम प्रकृतिको रहको छ । त्यसो भएको हुनाले भारतले पत्रकारिता र आमसंचारको क्षेत्रमा पनि दक्षिण एसियामा एउटा अनुपम नमूना बनिरहनु पर्ने हुन्छ । खासगरी सत्यता, निष्पक्षता, तथ्यपरकता, विश्वसनीता र जिम्मेवार पत्रकारिताको विकासका लागि अन्य देशका लागि भारतले उदाहरणीय छवी दिन सक्नुपर्ने हुन्छ । तर, पछिल्लो समयमा देखिएका भारतीय मिडियाहरुको नेपालविरोधी भद्दा प्रस्तुतिले यस क्षेत्रका लागि केही सोचनीय प्रश्नहरु खडा गरिदिएको छ ।

नेपाल र भारतका बीच आजमात्र होइन, शदियौंदेखिको मित्रवत सम्बन्ध कायम रहँदै आएको अवस्था हो । देश–देशको बीचमा औपचारिक सम्बन्ध त छँदैछ, त्यो भन्दा पनि महत्वपूर्ण कुरा जनस्तरको सम्बन्ध अझ बढी घनिष्ट र शौहार्दपूर्ण रहेको छ । संस्कृति, भूगोल र शभ्यतामा रहेको समानताले नेपाल र भारतीय जनताबीचको अन्योन्याश्रिततालाई अलग बनाउन सकिदैन । दुई देशबीचको अन्तरसम्बन्ध एउटै प्रकारको पारिस्थितिक प्रणाली (Ecosystem) जस्तै रहेको छ । एकआपसी सहयोगको अनिवार्यता र अपरिहार्यता मात्र होइन, अन्तरनिर्भरता समेत रहेको छ । सुरक्षा, रोजगारी, व्यापार, शिज्ञा, ज्ञान तथा मानव सम्बन्धमा एकअर्का बीचमा योगदान रहेको छ । उल्लेखित क्षेत्रमा नेपालले भारतलाई महत्वपूर्ण योगदान दिएको छ । यो पक्ष वास्तविक यथार्थ हो । यसलाई भारतका संचारमाध्यमहरुले नजरअन्दाज गर्नुहुँदैन ।

यतिबेला भारतीय संचारमाध्यमहरु जसरी नेपालका विरुद्ध अशोभनीय रुपमा प्रस्तुत भैरहेका छन, यो वास्तवमै देखजनक छ । यस्तो प्रकारको हरकत र शैलीले सिंगो नेपाल र नेपालीको अपमान भएको मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या भएको छ । यसैगरी नेपालका लागि चिनियाँ राजदूत होेउ यान्छीको बदनाम गरेको छ । समाजमा दुर्भावना फैलाउने र समाजलाई भडकाउने काम भइरहेको छ । त्यो पनि तथ्यमा आधारित भएर होइन, कथ्यमा बहकिएर अनि, कपोलकल्पित बान्की तयार गरेर आदर्श पत्रकारिताको धज्जी उडाइएको छ ।

यतिबेला भारतीय संचार माध्यमहरुले अन्तरराष्ट्रिय सम्बन्धको मर्यादा र अर्को देशको सार्वभौमिकताको सम्मान जस्ता विषयहरुलाई खुलमखुला उपाहास गर्ने काम गरेका छन । खासगरी नेपालले आफ्नो भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटी नक्शा अद्यावधिक गरेपछि भारतीय संचारमाध्यमहरु नेपालका विरुद्ध यसरी नाङ्गो रुपमा प्रस्तुत भएका हुन । पत्रकारिताको सिद्धान्त, मर्यादा र आचारसंहिताको अलिकति पनि ख्याल नगरिकन गरिएका यसप्रकारका हरकतहरु पूर्णतः निन्दनीय छन । त्यत्तिकै आपत्तिजनक र अशोनीय छन । यस्ता हरकतहरुको खण्डन वा भत्र्सना जुन शैली, शब्द र मात्रामा गरे पनि कमी नै हुन्छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको जमिन हो । आफ्नो जमिनको दावी गर्नु नेपालका प्रधानमान्त्री केपी शर्मा ओलीको स्वाभाविक दायित्व हो । नेपालले भारतका मिडियाले जसरी मनगडण्ते हिसावले नयाँ नक्सा जारी गरेको होइन, तथ्य र प्रमाणको जगमा आफ्नो सार्वभौमिकताको सुनिश्चिता गरेको हो । यसमा भारतले दुःख मनाउन गर्नपर्ने कुनै वाञ्छनीय कारण छैन । फेरि, पनि चित्त नबुझेको विषय हो भने कुटनीतिक–राजनीतिक तरिकाले आफ्ना धारणाहरु राख्न सकिन्छ । नेपालले त यस विषयमा पटक–पटक ‘कुटनीतिक नोट’ पठाइसकेको छ । भारतीय पक्ष कहिले कुटनीतिक वार्ताको लागि तयारी हुने हो । सबैको प्रतिक्षा यसैमा छ ।

एकातिर नेपालले माग गरिरहेको अवस्थामा पनि भारत कुटनीतिक वार्तामा बस्न आनाकानी गर्ने अर्कोतिर केही मुठ्ठिभरका मिडियामार्फत नेपालको छेडखानी भैराख्ने वर्तमान घटनालाई विश्लेषण गर्दा यो पहेलीमा संयोग मात्र होइन कि आशंका गर्नुपर्ने अवस्था आएको छ । भारत सरकारले यस विषयमा स्पष्टता दिनु पर्दछ । छिमेकी होस या अन्य कुनै तेस्रो मुलुक होस– सम्बन्धित देशहरुको परराष्ट्र मामिलामा प्रतिकूल प्रभाव पर्ने भूमिका हुन नदिनका लागि तालुकदार देश चनाखो हुन पर्दछ । आम संचार माध्यमहरुलाई सरकारको कठपुतली वा चप्रासी जस्तो बनाउने होइन, जिम्मेवार रुपमा भूमिका निर्वाह गर्नसक्ने हैसियतमा स्वतन्त्रता दिनु पर्ने हुन्छ ।

पत्रकारिताको सिद्धान्त, मर्यादा र आचारसंहिताको अलिकति पनि ख्याल नगरिकन गरिएका यसप्रकारका हरकतहरु पूर्णतः निन्दनीय छन । त्यत्तिकै आपत्तिजनक र अशोनीय छन । यस्ता हरकतहरुको खण्डन वा भत्र्सना जुन शैली, शब्द र मात्रामा गरे पनि कमी नै हुन्छ 

भारतको संविधान ‘द कन्टीच्युसन अफ ईण्डिया’ले प्रेस स्वतन्त्रतालाई सुनिश्चत गरेको छ । धारा १९(१) को All citizen shall have the right to speech and expression भनेको छ । विचार र अभिव्यक्ति स्वतन्त्रताको यस आधारबाट भारतका आमसंचार माध्यमहरुले पूर्ण प्रेस स्वतन्त्रताका अधिकारहरुलाई उपयोग गर्न पाउँछन । तथापी, देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, छिमेकी देशहहरुसंगको मैत्रिपूर्ण सम्बन्ध र सुरक्षाका सवालहरुमा भारतीय संचार माध्यमहरु पनि जिम्मेवार हुनैपर्ने हुन्छ । जुन कुरालाई भारतीय संविधानको भारा १९(२) मा स्पष्ट रुपमा उल्लेख गरेको छ । कम्तीमा भारतीय मिडियाहरुस आफ्नो देशको संविधान तय गरेको लक्ष्मणरेखा पार गर्नु हुँदैन । यसैगरी भारतमा पनि प्रेस काउन्सिल छ । जसलाई भारतीय प्रेस काउन्सिल अफ इण्डिया भनिन्छ । यसले भारतीय पत्रकारहरुका लागि ‘नम्र्स अफ जर्नलिष्टस कण्डक्ट २०१९’ जारी गरेको छ । भारतको संचार क्षेत्रलाई जिम्मेवार, जवाफदेही र विश्वसनीय बनाउनका लागि यसरी पत्रकार आचार विधान जारी भएको हो । पत्रकारिता आचार विघानको १३ नम्बर बुँदामा विदेश सम्बन्धको बारेमा उल्लेख गरिएको छ । जसमा बस्तुनिष्ठ, जिम्मेवार र निष्पक्ष रिपोटिङ र प्रस्तुतीकरण गर्नु पर्ने भनिएको छ ।

काम गर्ने सवालका कतिपय गल्ती कमजोरीहरु हुनु स्वाभाविक हुन्छन । कतियप कमजोरीहरु नजाने हुने गर्दछ । त्यस प्रकारका गल्ती कमजोरीहरुलाई सुधार गर्न सकिन्छ । तर, नियतवश हुने गल्ती कमजोरीहरुलाई सुधार गर्न अलि समय लाग्ने गर्दछ । यस्तो अवस्थामा दुई देशबीचको उच्च तहबाट नै विश्वासको वातावरण तयार गर्न सम्वाद थालनी गर्नुपर्ने हुन्छ । सम्वादको ढोका बन्द गरेर आज विश्वमा कसैले पनि विजय प्राप्त गर्न सक्दैन । चाहे सानो चाहे ठूलो होस– हरेक देशको सार्वभौमिकताको महत्व र हैसियत समान हुन्छ । समस्यालाई समाधानतिर जान नदिने, द्विपक्षीय सम्बन्धमा अस्थीरता सिर्जना खोज्ने र परिस्थितिलाई भडकावतर्फ डोराइरहन खोज्ने तत्वहरु दुबैतर्फ हुने गर्दछन । यस्तो चक्रव्यूँहमा दुबै देशका मिडिया र सरकार पर्नु हुँदैन । सिद्धान्त, मानव कल्याण र आपसी समझदारीको आधारमा समस्या समाधानको मार्गमा अग्रसर हुनु पर्दछ ।