काठमाडौं, असार ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीभित्र कसैको पनि बहुमत नरहेको तथ्य सार्वजनिक गर्नुभएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध घेरावन्दी गर्दै दुवै पदबाट राजीनामा मागेपछि चरमसंकटमा पुगेको नेकपालाई जोगाउन भुमिका खेल्ने ११ जना स्थायी कमिटी सदस्यमध्येका एक नेता थापाले पार्टीमा कसैको बहुमत नरहेको तथ्य खुलासा गर्नुभएको हो ।
स्थायी कमिटी बैठक जारी रहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसमेत समाहित भएपछि बहुमत पुगेको जिकिर गरिएको थियो । तर थापाले पार्टीमा अहिले कोही अल्पमत वा कोही बहुमतको अवस्थामा नरहेको बताउनु भएको हो । ‘स्थायी कमिटीमा कसैको बहुमत पुग्दैन । बहुमत–अल्पमततिर गएर निर्णय भयो भने पार्टी, सरकार र राष्ट्रका निम्ति दुर्भाग्य हुन्छ । त्यहाँ कोही पनि पुग्नु हुँदैन,’ कान्तिपुर दैनिकलाई दिनुभएको अन्तरवार्तामा थापाले भन्नुभएको छ । उहाँले आफूहरुले प्रधानमन्त्री ओलीको राजीनामा नमागेको पनि प्रष्ट पार्नुभएको छ ।
‘हामीले कहिलै पनि राजीनामा मागेका छैनौं । हाम्रो भनाई स्पष्ट छ । दुई अध्यक्षबीच पावर सेयरिङ हुनुपर्यो । पार्टी एकताको मूलमर्म अनुसार हुनुपर्यो भन्नेमा हामी प्रष्ट छौं । सहमति त्यसमै हुन्छ । त्यसपछि को सही को गलत भन्ने समयले बताउँछ । प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिएपछि त पार्टी भंग भईहाल्छ नि ! पार्टी फुटीहाल्छ । त्यो एकताको मर्म बाहिर हुन्छ । बहुमत र अल्पमतले निर्णय गर्ने बेला हैन यो । सहमतिबाट टुंगाउनु पर्छ,’ थापाले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्