भैरहवा, साउन ११ । भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी राखेर काम अन्तिम चरणमा पुगेको हो ।
चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम अघि बढाएपछि हालसम्म विमानस्थलको काम ९१ प्रतिशत सकिएको हो। ‘संक्रमण अघिजस्तो रफ्तारमा काम गर्न नसकिए पनि भएको थोरै जनशक्तिले पनि काम जारी राख्यौँ, लकडाउनको क्रममा अनेकन समस्या आए पनि काम रोकेनौँ,’ आयोजना प्रमुख प्रवेश अधिकारीले भन्नुभयो । उहाँका अनुसार लकडाउनमा विमानस्थलमा ८० जना कामदार थिए। खुकुलो भएपछि कामदार बढाएर अहिले करिब तीन सय पुर्याइएको छ। काम पनि धमाधम भइरहेको छ।
बिदामा चीन फर्किएका दक्ष जनशक्ति कोरोना संक्रमणका कारण आउन नसक्दा आयोजनाको काममा असर परेको छ। विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएकाले विमानस्थलमा दक्ष जनशक्ति प्रायः चीनकै छन्। संक्रमणका कारण चीनबाट जनशक्ति र अन्तिम चरणमा जडान गरिने आवश्यक उपकरण आउन नसक्दा आयोजना समयमा सम्पन्न हुन नसकेको आयोजना प्रमुख अधिकारीको जानकारी दिनुभयो । एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनले चीनतर्फ रोकिएका कारण केही कठिनाइ भएको अधिकारीले जानकारी दिनुभयो ।
विमानस्थलमा अहिले कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ टायल्स विछ्याउने, उपकरण जडान, विद्युतीकरण काम जारी छ। यस्तै धावनमार्गमा मार्किङको काम सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ। फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ।
आयोजनाका अनुसार धावनमार्गको वरिपरि पेरिमिटर सडक निर्माणको काम सुरु भइसकेको छ। योसँगै विमानस्थलमा जडान गर्नुपर्ने उपकरण तेस्रो मुलुकबाट आयात गर्नु पर्ने भएकाले उडान नहुँदा रोकिएको छ। तर, अब बाह्य उडान हुने सरकारको घोषणासँगै उपकरण र दक्ष जनशक्ति आउने भएका छन्। यससँगै रोकिन पुगेका केही काम भने धमाधम सुरु हुनेछन्।
प्रतिक्रिया दिनुहोस्