जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार ०६:०२

भारतमा एकैदिन ६२ हजारभन्दा बढी मानिस कोरोना संक्रमण


काठमाडौं, २३ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको इपीसेन्टर भारत बन्दै छ । पछिल्लो समयमा दैनिक संक्रमणदर र मृत्युदरमा सवैभन्दा अग्रस्थानमा भारत रहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो आज सम्मकै सवैभन्दा धेरै संक्रमित भएको हो ।

शुक्रवार विहान सम्म भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८९९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४१ हजार ६३८ पुगेको छ ।