जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार ०९:५८

सीताराम हाछेथूलाई यसकारण दिइयो ललितपुर महानगर प्रहरी प्रमुखको जिम्मेवारी


ललितपुर, भदौ १५ । ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सक्षम र सफल मानिएका पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई नगर प्रहरी प्रमुखको जिम्मेवारीमा नियुक्त गरेको छ। हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन उहाँलाई नियुक्त गरेको जानकारी दिनुभयो । ‘उहाँको कार्यक्षमता, शैलीबाट जनता प्रभावित हुनुहुन्छ, त्यसैले नियुक्ति दिएका हौं,’ प्रमुख महर्जनले भन्नुभयो ।

पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने बताउँदै नमूना नगर प्रहरी बनाउन हाछेथूको भूमिका महत्वपूर्ण हुने मेयर महर्जनको बुझाइ छ । महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा सीतारामले भूमिका खेल्ने उहाँले बताउनु भयो । हाछेथूले महानगरको नीति र निर्देशनअनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन काम गर्ने योजना सनाउनु भयो । ‘ललितपुरका मेयर चिरिबाबु महर्जनले विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ, जिम्मेवारी पूरा गर्छु,’ हाछेथूले भन्नुभयो ।

ट्राफिक व्यवस्थापन, सरसफाइ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने उहाँको भनाई छ । २०७५ साल मंसिर महिनामा नेपाल प्रहरीबाट सेवानिवृत्त हुनुभएका हाछेथूले प्रहरीमा रहँदा ट्राफिक व्यवस्थापनको कार्य कौशलको मूल्यांकनस्वरुप राष्ट्रप्रमुख, सरकारप्रमुख, नेपालका विभिन्न मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट गरी एक सय २९ वटा पुरस्कार पाउनु भएको थियो । उहाँले कालिमाटी, कोटेश्वर, गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पूरा गर्नुभएको थियो ।

२९ वर्ष यो ट्राफिक व्यवस्थापनमा बिताउनु भएका सीतारामलाई स्थानीय जनतासँग मिलेर काम सक्ने क्षमता भएका व्यक्तिको रुपमा लिइन्छ। ट्राफिक प्रहरीका विभिन्न प्रभाग, वृत्त र परिसरमा २८ वर्ष इन्चार्ज भएर काम गरेको अनुभव उहाँसँग छ। सोही अनुभव र कामका आधारमा ललितपुर महानगरले सो जिम्मेवारी दिएको हो ।