काठमाडौँ, ९ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, “लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता हाम्रो साझा मूल्यमान्यता हुन्, जसले हाम्रो सम्बन्धलाई थप बलियो बनाएको छ ।” उहाँले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकाको योगदान प्रशंसनीय रहेको बताउनुभएको थियो । उपराष्ट्रपति यादवले नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासबाट नेपाली डायस्पोरालाई कन्सुलर सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै व्यापार, प्रविधि तथा लगानीका क्षेत्रमा आपसी सहकार्य अझ सुदृढ गर्नेतर्फ पनि नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा उपराष्ट्रपति यादवले यस उपलब्धिका लागि अमेरिका जस्ता विकास साझेदारहरूको सक्रिय र दीर्घकालीन सहकार्यको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत सञ्चालित पूर्वाधार परियोजना र युएसएआइडीमार्फत भइरहेका कार्यक्रम पुनःसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो । सो अवसरमा राजदूत थम्प्सनले एमसिसी, युएसएआइडीलगायत अन्य विकास परियोजना सकारात्मक रुपमा निरन्तरताको मार्गमा अघि बढेको बताउनुभयो । उहाँले अमेरिकामा नेपाली समुदाय अन्त्यन्तै सक्रिय र जीवन्त भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल तथा अमेरिका परस्पर सहकार्य गर्दै महत्वपूर्ण काम गर्न सक्ने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्