काठमाडौं, भदौ २४
कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि एस्ट्राजेनका र अक्सफोर्ड युनिभर्सिटीले बनाइरहेको भनिएको खोपको क्लिनिकल ट्रायल (परीक्षण) रोकिएको छ । परीक्षण गरिएका एकजना व्यक्ति बिरामी परेपछि खोप परीक्षण रोकिएको हो । एस्ट्राजेनेकाले अहिले खोप परीक्षण रोकिएको पुष्टि गरेको छ । उसले बिरामी भएको व्यक्तिको बारेमा अहिलेसम्म केही थाह नभएको उल्लेख गरेको छ ।
अक्सफोर्ड युनिभर्सिटीमा गरिएको खोप परीक्षणमा संसारभरका मानिसहरु आशावादी थिए । तेस्रो चरणमा परीक्षण भइरहेको यो खोप सबैभन्दा अघि भएको समेत बताइएको थियो । सबैभन्दा पहिलो यो खोप बिश्व बजारमा आउँने विज्ञहरुको अनुमान थियो । अक्सफोर्डले यसबेला संसारका करीब एक दर्जन स्थानका ३० हजार मानिसमा यो खोप परीक्षण चलाएको थियो ।
बीबीसीका अनुसार अब एस्ट्राजेनेकाले विश्वभर चलाएको परीक्षण रोकिएको छ । बिरामी के कसरी भयो भन्ने एक स्वतन्त्र जाँच हुने र त्यसले दिने रिपोर्टको आधारमा यो जाँच अघि बढाउने कि स्थगित गर्ने भन्ने निधो हुने बताइएको छ ।तर बिरामी हुने कारण तत्काल पत्ता नलागे परीक्षण रोकिने बताइएको छ ।
बीबीसीका मेडिकल एडिटर फर्गस वाँल्सका अनुसार एक व्यक्ति बिरामीभएपछि अक्सफोर्डले विश्वभर चलिरहेको क्लिनिकल ट्रायल रोकेको छ र यसबारे निष्पक्ष छानबीनपछि समिक्षा गरि ट्रायल गर्ने/नगर्ने सम्बन्धमा निर्णय लिइनेछ । अक्सफोर्ड प्रवक्ताले ठुलो संख्यामा गरिने ट्रायलमा मानिस बिरामीहुने सम्भावना रहन्छ तर सावधानीका साथ यसको परीक्षण हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
धेरै संख्यामा परीक्षण गर्दा केही व्यक्ति बिरामी हुनुलाई जानकारहरु सामान्य ठान्दछन् तर बिरामीलाई अस्पताल भर्ना गरि उपचार गर्दा बिरामीको कारण पत्ता लाग्दैन भने ट्रायललाई रोक्ने चलन छ । अक्सफोर्डले आफ्नो क्लिनिकल ट्रायल रोक्नपरेको यो दोस्रो पटक हो । युनिभर्सिटीका प्रवक्ताले बृहत रुपमा गरिएको परीक्षणमा बिरामी हुने सम्भावना हुने भन्दै यसको गम्भीरताका साथ छानवीन हुने र पुनः परीक्षण हुने बताउनुभयो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्