जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १०:३९

राजस्व चुहावट गर्ने कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागको एक्सन


काठमाडौं, असोज ६

प्रधानमन्त्री कार्यालय मातहत आएपछि राजस्व अनुसन्धान विभागले आफ्नो कामलाई तिव्रता दिईरहेको छ । नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेका कम्पनीविरुद्ध विभागले लगातार छानविन गर्ने र मुद्दा दायर गर्ने काम गरिरहेको छ ।

विभागले विभिन्‍न कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । नक्कली भ्याटबिल प्रयोग गरी ३६ करोड ८८ लाख रुपैयाँबराबर राजस्व चुहावट गरेकाले ती कम्पनीहरुविरुद्ध मुद्दा उच्च अदालत पाटनमा दायर गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व चुहावट गरेको अभियोगमा चितवनको भरतपुर महानगरपालिका २ स्थित सन्तोषी निर्माण सेवाका सञ्चालक केशवराज कँडेललगायत तीन जनामाथि ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।

त्यस्तै, ललितपुर महानगरपालिका १३ स्थित स्काइलाइन ट्रेडर्स एन्ड सप्लायर्सका प्रोप्राइटर वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका प्रोप्राइटर उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनलका सञ्‍चालक हर्ष चौधरीले ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपैयाँबराबरको राजस्व छली गरेको विभागले जनाएको छ ।

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेकै कसुरमा विभागले काठमाडौं महानगरपालिका ३२ स्थित बिग प्लान सप्लायर्स तथा बिग प्लान ब्‍याग उद्योग, भक्तपुरस्थित एपी ट्रेड एन्‍ड सप्लायर्स र बनेपास्थित सम्मानित ट्रेड कन्सर्नका सञ्चालक तथा मुख्य कारोबारी रामप्रसाद चौलागाईंलगायत तीन जनालाई २५ करोड ५७ लाख ९७ हजार ६८ रुपैयाँबराबर राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको छ ।