काठमाडौं, कात्तिक २७
कतार विश्वकप छनोटअन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सकिने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो ।
यसअघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो । एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । छनोटअन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले बताएको छ ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटका लागि नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ । नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ । छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ । बंगलादेशसँग भोलि पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ भने मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल सकेर स्वदेश फर्किने तालिका छ ।
प्रतिक्रिया दिनुहोस्