जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार १६:१८

नदीमा डुब्न लागेकी युवतीलाई यसरी बचाए महावाणिज्यदूतले


काठमाडौं, मंसिर २

चीनमा नदीमा डुब्नै लागेकी एक युवतीलाई त्यहाँका बेलायती महावाणिज्यदूत आफैं नदीमा हामफालेर बचाएका छन् । बिबिसीका अनुसार गत शनिबार एक नदीको किनारबाट चिप्लिएर खसेकी युवतीलाई चीनको चोङकिङमा बेलायतको महावाणिज्यदूत रहेका स्टफन एलिसनलले बचाएका हुन् ।

अहिले उनको सामाजिक सञ्जालमा निक्कै प्रशंसा भइरहेको छ । बेलायती दूतावासले युवतीलाई उद्धार गरिरहेको भिडियो सामाजिक सञ्जालमा राखेको छ । आफू नदी किनार छेउमा जाँदै गर्दा युवती बचाऊ बचाऊ भन्दै चिच्याएको सुनेपछि उनको उद्धार गरेको महावाणिज्यदूत एलिसनले बताए । बिबिसीसँग उनले भनेका छन्, ‘नदीमा पस्नुबाहेक विकल्प मैले देखिनँ।’

एलिसन नदीमा पसेर ती युवतीलाई समात्छन् र अर्का व्यक्तिले पानीमा तैरिने वस्तु फ्याँक्छन्। एलिसनले महिलालाई लाइफबेल्टमा राख्छन् र किनारमा बसेका मानिसले उनीहरूलाई तान्छन्। बेलायतका विदेशमन्त्री डोमिनिक राबले ट्विट गर्दैै भनेका छन्, ‘उनको साहसले संसारभरि रहेका बेलायती कूटनीतिकर्मीको इज्जत बढाएको छ।’