विराटनगर, मंसिर ४
विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना वृद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । नोबेलमा आज बिहान इटहरी उपमहानगरपालिका–२ का ७७ वर्षीय वृद्धको मृत्यु भएको हो ।
कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका वृद्धको स्वास्थ्यमा समस्या आएपछि १ मंसिरमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीबार बिहान ६ः३० बजे उनको मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमा स्वासप्रश्वास सम्बन्धी समस्या थियो ।
यता धरान उपमहानगरपालिका– ११ की २९ वर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक २७ गते कोरोना पोजेटिभ देदिएको उक्त महिला कात्तिक ३० गते प्रतिष्ठानमा भर्ना हुनुभएको थियो । महिलामा मृगौलाको समस्या रहेको थियो । उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्