जनता टाइम्स

९ मंसिर २०७७, मंगलवार १९:४३

पत्रकार नेतालाई नारायणकाजीको निर्देशन : पार्टी फुटने भयो, संगठन कब्जा गर्दै प्रतिरक्षाको लागि तयारी गर्नाेस


काठमाडौं, मंसिर ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बिभाजनकै अवस्थामा रहेकोले तयारी अवस्थामा रहन आफू निकट पत्रकार नेताहरुलाई निर्देशन दिनुभएको तथ्य बाहिर आएको छ । प्रवक्ता श्रेष्ठले केही दिनअघि आफू निकट पत्रकारको गोप्य भेला गरी यस्तो निर्देशन दिनुभएको हो ।

भेलामा सहभागीमध्येका एक पत्रकारले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार प्रवक्ता श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई नै तयारीको सवै जिम्मा दिनुभएको भन्दै ‘बिभाजन निश्चित जस्तै भयो, तयारी गर्नाेस’ भन्ने शब्द प्रयोग गर्नुभएको थियो । उनका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि पार्टी र सरकारबाट हटाउने आफूहरुको प्रष्ट रोडम्याप रहेको बिषयलाई बिभिन्न प्रसंगसहित राख्दै प्रवक्ता श्रेष्ठले पार्टी फुटने तहमै रहेकोले आवश्यक प्रतिरक्षाका लागि तयार रहन र प्रेस संगठन नेपाल कब्जा गर्ने हैसियत बनाउन निर्देशन दिनुभएको थियो ।

प्रवक्ता श्रेष्ठले प्रचार युद्धमा आफूहरुको अभियानलाई स्थापित गर्न नसके अध्यक्ष प्रचण्ड सचिवालयमा प्रस्तुत प्रतिवेदन फिर्ता लिन बाध्य हुने भएको कारण भिडनु पर्ने बताउनु भएको थियो । ‘तपाईहरु प्रष्ट हुनोस, पार्टी लगभग फुटने तहमै पुगेको छ, प्रतिरक्षाको लागि तयारी गर्नाेस,’ आफूनिकट पत्रकार भेलामा प्रवक्ता श्रेष्ठको भनाई थियो ।

सहभागीमध्येका एक पत्रकार नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार प्रवक्ता श्रेष्ठले आफूहरुबीचको संवाद कसैलाई नचुहाउन समेत निर्देशन दिनुभएको थियो भने अध्यक्ष प्रचण्डले छुट्टै भेटन चाहिरहेको र उहाँले पनि ओलीबिरुद्धको मिसनमा लाग्नुपर्ने औचित्यबारे प्रष्ट पार्ने बताउनु भएको थियो । श्रेष्ठले प्रधानमन्त्री ओलीलाई इरिटेड हुने गरी प्रचार युद्ध छेठडन पनि निर्देशन दिनुभएको ती पत्रकारले जानकारी दिए ।

सो भेलामा प्रेस संगठन नेपालका सहइञ्चार्ज ओम शर्मा, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, बलराम थापा, राजेश राईलगायतका एक दर्जन पत्रकार नेताहरु सहभागी हुनुहुथ्यो । ती पत्रकारका अनुसार प्रवक्ता श्रेष्ठले बोलाउँदा पनि तपाईसँग केही कुरा गर्नु छ आउनु पर्यो भन्दै निम्ता दिनुभएको थियो । यसअघि पनि प्रवक्ता श्रेष्ठकै अगुवाईमा पत्रकारको गुटभेला गरी ओलीबिरुद्ध प्रचार युद्धमा सफलता प्राप्त गर्ने गरी अघि बढन निर्देशन दिइएको थियो ।