काठमाडौं, पुस २० । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) बीच सम्झौता भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) सँग सम्झौता गरेको जानकारी दिनुभयो । यसअघि प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको थियो ।
‘‘अबको १३ महिनाभित्र सीजी इन्फ्राटा–बीडीए (जेभी) कम्पनीले विमानस्थलको गुरुयोजना तयार गरिसक्नुपर्ने गरी सम्झौता भएको छ । गुरुयोजना निर्माणको लागत २९ करोड ८९ लाख रुपियाँ रहेको छ,’ क्षेत्रीले भन्नुभयो । उहाँका अनुसार विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने छ ।
गुरुयोजना निर्माणका लागि प्राधिकरणले माग गरेको आशय–पत्रमा १३ वटा कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए । सङ्क्षिप्त सूचीमा सूचीकृत भएका छवटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो, जसमध्ये तीनवटा कम्पनीबाट मात्र विस्तृत प्रस्ताव आएका थिए ।
‘विस्तृत प्रस्ताव आएका मध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरेको सीजी इन्फ्राटा–बीडीए कम्पनीले गुरुयोजना निर्माणका लागि छनोट भएको हो,’ प्रवक्ता क्षेत्रीले भन्नुभयो । सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीमध्येबाट पुनः विस्तृत प्रस्ताव माग गरिएकोमा तीनवटा कम्पनीले मात्र प्रस्ताव पेस गरेको थियो, जसबाट सीजी इन्फ्राटा–बीडीए ९जेभी० छनोट भएको हो ।
प्रतिक्रिया दिनुहोस्