जनता टाइम्स

७ माघ २०७७, बुधबार १८:२५

आयोग जुट्यो निर्वाचनमा : प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्णय


काठमाडौं, माघ ७

निर्वाचन आयोगले निर्वाचनको तयारीलाई तिव्रता दिन थालेको छ । आयोगले सबै प्रदेश र ७५३ वटै स्थानीय तहमा एकरएक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ । सरकारले बैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि आयोगले गृहकार्यलाई तिव्रता दिएको हो । आयोगले तोक्ने सम्पर्क व्यक्तिले निर्वाचनसँग सम्बन्धित ऐन, नियम, निर्देशिकालगायतमा भएको व्यवस्था अनुसारको कार्यसम्पादन गर्ने जनाएको छ ।

“स्थानीयस्तरमा मतदाता नामावली सङ्‍कलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्नेलगायतका कार्यहरू सञ्चालन गर्न र आयोगबाट तोकिएका कार्यहरूमा आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा एक–एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ,” आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

उक्त निर्णयानुसार सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सो सरहका एकजना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिनेछ । सम्पर्क व्यक्तिले आयोगलाई आवश्यक जानकारी दिनेछन् ।

जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिने विज्ञप्तिमा उल्लेख छ । यसको लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिसकेको छ । साथै, प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत आयोगले स्वीकृत गरेको छ ।