जनता टाइम्स

३० चैत्र २०७७, सोमबार १९:२९

वैशाख ४ देखि काठमाडौंमा चौंथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदै, प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन हुने


काठमाडौं, चैत ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुने अन्र्तराष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता उद्घाटन गर्नुहुने भएको छ । महिला रेस्लिङ फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर आयोजना गरेको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुँदै छ । फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानलगायत देशबाट रेस्लरहरु आउनुहुने फाउन्डेसनको अध्यक्ष भगवति खड्का युनिकाले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘विभिन्न देशबाट आउनुहुने खेलाडीहरु काठमाडौं आइसक्नुभएको छ, कोही–कोही आउँदै हुनुहुन्छ । यो पटक रेस्लिङ प्रतियोगितामा ३५ जना सहभागी हुनुहुन्छ ।’ उहाँले मन्त्रीहरु लगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति हुने पनि बताउनुभयो ।

उहाँले थप्नुभयो,‘प्रमुख अतिथिको रुपमा राजनेता एवं देशका नायक प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुन्छ, त्यसैगरी खेलकुद मन्त्री, नेपाल खेलकुद परिषद्का सदस्य सचिवलगायत प्रतिनिधिहरु आउनुहुन्छ ।’

त्यस्तै रेस्लर एवं कलाकार अस्मिता जुरेलीले कोरोनाका कारण कार्यक्रममा असर नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा कार्यक्रम गर्न केही असहज भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षा सामग्रीको उपयोग गरेर नै प्रतियोगिता सञ्चालन गर्दैछौं त्यसैले असर गर्दैन ।’