काठमाडौं, बैशाख ६
नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ । राष्ट्रिय सभा गृहमा भोली हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य प्रभात विक्रम कटवालले प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा नेकपा एमाले पार्टी महासचिव ईश्वर पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, नेपाल खेलकुद महासंघ इन्चार्ज कर्णबहादुर थापा, लिलाबहादुर थापा लगायतको उपस्थिति रहने बताउनुभयो ।
कटवालले नेपाललाई विश्वमा चिनाउनका लागि खेलकुद महत्वपूर्ण भएको पनि बताउनुभयो । भोली हुने भेलामा ७७ वटै जिल्ला तथा आवद्ध विभिन्न खेल संघहरुबाट करिव एक हजार जना प्रतिनिधिहरुको उपस्थिति हुने उहाँले प्रष्ट पार्नुभयो । भेलामा खेलकुद क्षेत्रको विकासको बारेमा छलफल, बहस गरी आगामी कार्यदिशा सहित केही महत्वपूर्ण घोषणा गर्ने र नेतृत्वको समेत पुर्नगठन गर्ने भेला आयोजक कमिटीका संयोजक रमेश पौडेलले बताउनुभयो । उहाँले पहिलो चरणमा १२ लाख सदस्यहरुलाई संगठित गर्ने अभियान शुरु भएको पनि सुनाउनुभयो ।‘
धेरै जना हाम्रै साथीहरु पनि आत्तिनुभएको छ, तर आत्तिनुपर्दैन, विस्तारै १ करोड पुर्याउँछौं र सबै नेपालीलाई स्वस्थ रहन खेल अभियानमा लाग्न प्रेरित गर्छौ’, उहाँले भन्नुभयो । सबै जनतालाई खेलकुदमा गोलबन्द गर्दै खेलकुदमय नेपाल निर्माणका लागि महासंघलाई बलियो बनाउनु पर्ने धारणा राख्नुभयो । भेलाबाट केन्द्रीय कमिटी घोषणा गर्दै नेपालका ७७ वटै जिल्ला कमिटी एकै दिन घोषणा गर्ने तयारीमा रहेको जानकारी दिदै संयोजक पौडेलले खेलकुद क्षेत्रमा रहेको नीतिगत समस्याहरुको सामाधानका लागि पनि महासंघले ठोस योजना ल्याउने बताउनुभयो ।
‘खेलकुद नागरिकको मौलिक अधिकार, संवृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ महासंघको राष्ट्रिय भेला आयोजना गरिएको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य पर्शुराम बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,‘खेलकुद जीवन हो र यसका माध्यमबाट मात्र स्वस्थ व्यक्ति र सार्थक जीवन तथा सभ्य समाजको परिकल्पना गर्न सकिन्छ साथै राजनैतिक चेतना र योजना पनि खेलकुद विकासको मेरुदण्ड हो ।’
प्रतिक्रिया दिनुहोस्