जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार १९:५९

‘धुर्मुस’लाई उपप्रधानमन्त्री पोखरेलको फोन आएपछि…


काठमाडौं, बैशाख १६

आफ्नो एकल पहल र विभिन्न क्षेत्रका मानिसको सहयोगमा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाईरहनु भएको छ, सीताराम कट्टेल ‘धुर्मुस’ले ।

क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष ‘धुर्मुस’लाई विहिवार एकाएक नसोचेको फोन आयो । सो क्रिकेट रंगशालाको निर्माणको शुरुवात गर्दा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी बन्नु भएको थियो । तर, अहिले उनलाई आर्थिक अभाव परिरहेको छ ।

यही क्रममा विहिवार उहालाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले फोन गरेर सिहंदरबार बोलाउनु भयो । बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रंगशालाबारे चासो देखाउनुभएको हो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल भएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो । भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी एवं प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेसनको प्रशंसा गर्नु भएको थियो ।

प्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीसँग पनि यसबारे छलफल गर्ने बताउनुभयो । उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मुस भावुक बनेको पाण्डेले बताउनुभयो । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैँले बोलाएर चासो लिएको भन्दै उपप्रधानमन्त्री पोखरेललाई धन्यवाद दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलसँगको भेटमा कट्टेलले भन्नुभयो, ‘सरकार छ, राज्य छ भन्ने महसुस भयो । नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौँ ।’ अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोडभन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको कट्टेलले उपप्रधानमन्त्रीलाई जानकारी दिनुभयो । रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उहाँले बताउनुभयो ।